arrow

चिनियाँ दूतावासको पत्र र ग्लोबल टाइम्सको टिप्पणीप्रति कांग्रेसको कडा प्रतिवाद

चिनियाँ दूतावासको आरोप कांग्रेस र चीनको मैंत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
congress-meeting6.jpg

काठमाडौं। चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका बारेमा गरिएको टिप्पणीका साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप लगाइएको उक्त लेखप्रति कांग्रेसले औपचारीक रुपमै कडा प्रतिवाद गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीले सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा दिएपछि रुष्ट भएको कांग्रेसले ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र समेत रहेको सो पत्रिकाले गरेको आपत्तिजनक टिप्पणीका बारेमा नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयमा भनिएको छ, 'नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ ।'

ग्लोबल टाइम्समा अफवाह लेखाएर चित्त नबुझाएको चीनले नेपालस्थित चिनिया दुतावासमार्फत नोभेम्वर १३ मा नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गर्नुभएको प्रतिवेदनलाई आधारविहिन, झुठो, गैरजिम्मेदार र अमैत्रीपूर्ण भनिएकोपनि कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चिनियाँ दुतावासको पत्रप्रति निर्णय गर्दै कांग्रेसले भनेको छ, 'जहाँसम्म जीवनबहादुर शाहीको हुम्लामा सीमा अतिक्रमण भएको प्रतिवेदनको सन्दर्भ छ, उहाँले ७ वुँदे सार सहितको निष्कर्ष र ति निष्कर्षहरुलाई पुष्टि गर्ने १८ वुँदे प्रमाण र आधारहरु समेत प्रस्तुत गर्नु भएको छ । यस सम्बन्धमा शाहीले नेपाल सरकारलाई आफ्नो टोलीले निकालेको निष्कर्षका आधारमा नेपाल सरकारले गर्नुपर्ने कामका सम्बन्धमा ३ वुँदे सुझाव र सिफारिश पनि दिनु भएको छ र उहाँको प्रतिवेदन सीमा सुरक्षाको सरकारको जिम्मेवारीप्रति लक्षित छ ।'

कांग्रेसलाई आरोपित गर्ने दुतावासको पत्रको जवाफमा चीनलाई नै कांग्रेसले प्रतिप्रश्न समेत गरेको छ । कांग्रेसले भनेको छ, 'यदि चिनिया सरकारले भने जस्तै हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण नभएको हो भने यसको निर्क्यौल दुई सरकार बीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्य सहित आएको तथ्य, सीमा स्तम्भहरुको अवस्था लगायतको प्राविधिक मूल्याङ्कनको आधारमा टुङ्गो लगाउन आपत्ति हुनु पर्ने कुनै कारण छैन । यसले नेपाली जनता माझ रहेको आशंका निवारण गर्न मद्दत गर्नेछ ।'

ऐतिहासिक तथ्यहरुलाई समेत समेटेर कांग्रेसले अगाडी भनेको छ, 'नेपाली कांग्रेस के स्पष्ट गर्न चाहन्छ भने सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी जुन सम्झौता चीन सरकारसँग गर्नु भएको थियो, त्यसकै आधारलाई टेकेर दुई देश बीच एक अर्का बीच अहस्तक्षेप र एक अर्काको भू–भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको छ । आगामी दिनमा पनि पालना गर्नेछ । नेपाली कांग्रेस दुई देशको मैंत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदन सम्बन्धमा काठमाडौंस्थित चिनिया राजदूतावासको आधारहिन आरोप लामो समयदेखि नेपाली कांग्रेस तथा चिनियाँ सरकार र जनता बीच रहेको मैंत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत भएको कुरामा सम्बन्धित पक्षको ध्यानाकृष्ट गर्दछ ।'

हुम्लामा नेपाली भू–भागमा अतिक्रमण भएको भन्ने समाचारहरु सार्वजनिक भएपछि नेपाल सरकारको हुम्लामा रहेको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले त्यस सम्बन्धमा प्रतिवेदन दिनु पूर्व नै परराष्ट्र मन्त्रालयले कुनै अतिक्रमण नभएको विज्ञप्ति सार्वजनिक गरेको सम्बन्धमा नेपाली कांग्रेस पार्टीले तत्कालै सरकारको ध्यानाकर्षण गराएको स्मरण गराउँदै कांग्रेसले सोहि अन्यौलका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभाका सदस्य तथा विपक्षी दलका नेता जीवनबहादुर शाही सहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी त्यहाँ नेपाली भूमिमा अतिक्रमण भएको प्रतिवेदन दिएको बताएको छ। त्यसपछि पनि नेपाल सरकारले यस सम्बन्धमा कुनै छानविन गर्न पहल नगर्नु र अर्कोतर्फ चिनियाँ सरकारले हुम्लामा कुनै नेपाली भूमि नमिचिएको विज्ञप्ति आएको स्थितिले नेपाली जनतामा थप अन्यौलता छाएको जनाउँदै नेपाली कांग्रेसले सीमाको संवेदनशिल बिषयमा पनि गैर जिम्मेवार प्रवृत्ति देखाउने सरकारको निन्दा गरेको छ ।

नेपाली कांग्रेसले दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाई, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्याङ्क र जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गरेको छ । कांग्रेसले भनेको छ, 'यसले सीमा सम्बन्धमा पैदा भएको अन्यौललाई चिर्न मद्दत पुग्ने मात्रै नभएर नेपाली जनतालाई नेपालको भूमिको सुरक्षा सम्बन्धमा सिर्जित अन्यौलको अन्त्य हुनेछ । साथै, यसबाट दुई देशको जनता बीच आउन सक्ने अनावश्यक तिक्ततालाई पनि समाप्त पार्न मद्दत पुग्नेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ