arrow

चिकित्सकसहित पाँच स्वास्थ्यकर्मीमा संक्रमण, तिहारमा फैलिने खतरा भएपछि बजार सिल

logo
प्रकाशित २०७७ कार्तिक २९ शनिबार
covid-test-corona.jpg

सल्यान । सल्यानमा सल्यान अस्पताल तेस्रोपटक सिल गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकलगायत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा शनिबारदेखि एक साताका लागि बन्द गरिएको हो । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए । अस्पतालमा कोरोना भाइरस निर्मलीकरण तथा सम्पर्कमा रहेका व्यक्तिहरुको नमूना सङ्कलन गर्नुपर्ने भएकाले आपत्कालीनबाहेक सबै सेवा बन्द गरिएको स्वास्थ्य सेवा व्यवस्थापक श्रेष्ठले जानकारी दिए । सल्यानमा हालसम्म एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको र उनहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए । 

यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि बजार पूर्णरुपमा बन्द गरिएको छ । तिहारसँगै कोरोना संक्रमण फैलिने खतरा भएपछि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । श्रीनगर बजारमा व्यापारी, बैंकका कर्मचारी, शिक्षकलगायतमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । 

जिल्लाको वागचौर नगरपालिकाको थारमारे तथा वागचौर बजार क्षेत्र पनि शनिबारदेखि एक साताका लागि सिल गरिएको छ । स्थानीय व्यापारी तथा नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकका तीनवटा वडा सिल गरिएको वागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जानकारी दिए । 

जिल्लामा केही समय कोरोना संक्रमण एकदम न्यून भएकामा केही दिनअगाडि देखि भने तीव्ररुपमा देखा पर्न थालेको छ । जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेको छ । यसभन्दा पहिले कोरोना समुदायस्तरमा भने देखिएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ