arrow

कोरोनाबीच सरकारले बालगोपालेश्वर मन्दिर खोल्दै, बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शन

logo
रासस,
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
ranipokhari.jpeg

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारीका कारण कुनै पनि शक्तिपीठमा दर्शन गर्न नदिएका बेलामा सोमबार रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था भने खुला गरेको छ । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको हो ।

भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन्न भएसँगै पहिलोपटक बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था गरिएको हो । यस वर्ष मङ्सिर १ गते सोमबार भाइटीका परेको छ । सरकारको यो कदमको भने मिश्रित प्रतिक्रिया आएको छ । अन्य शक्तिपीठ खोल्न नदिने तर बालगोपालेश्वर खोल्दा भने कोरोनाको महामारीमा कुनै समस्या नहुने भनी सरकारले गरेको यो निर्णयलाई भने अचम्मकै रुपमा लिइएको छ । 

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि  मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । 

भाइटीकाकै लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र  सुरक्षा व्यवस्था पनि गरिएको कामपा वातावरण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । मन्दिर पुरानै शैली (ग्रन्थकूट–शिखर) मा पुनःनिर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । 

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा यो पोखरी बनाए । पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० अर्थात् विसं १७२७ अर्थात् इसं १६७०० मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । सोमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ