arrow

जंगलमा कसरी अडिएला मन, कुकुर नै सिपाही र सारथी

logo
प्रकाशित २०७७ कार्तिक ३० आइतबार
Magdi-bhedigoth.jpg

बेनी । वरिपरि जंगलले घेरिएको  बीचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जंगलको छेउको चौरमा रहेको भेडीगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिइएको छ । यो म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पुतलीडाँडा नजिकको भेडीगोठको दृश्य हो । बस्तीदेखि एक दिनको यात्रापछि पुगिने यहाँको भेडीगोठको सुरक्षाको सम्पूर्ण जिम्मेवारी गोठमा रहेका पाँच वटा भोटे जातका कुकुरको रहेको भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए । 

करिब ४०० भेडाबाख्रा रहेको छन्त्यालको गोठमा दुई जना हेरालु छन् तर उनीहरुको जिम्मेवारी भेडाबाख्रालाई चरण क्षेत्रमा लगाउने र गोठको सामान ओसार पोसार गर्ने मात्रै हो । गोठमा रहेका भेडाबाख्रालाई जंगली जनावरबाट बचाउने र गोठका हेरालुहरुको समेत सुरक्षाको प्रमुख जिम्मेवारी गोठमा रहेका कुकुरहरुकै रहेको भेडापालक कृषक छन्त्याल बताउछन् । 

गोठमा रु १५ देखि ६० हजारसम्ममा छन्त्यालले कुकुर खरिद गरी गोठमा पालेका छन् । चरणक्षेत्रदेखि रातमा सिङ्गो गोठको सुरक्षाका लागि कुकुर नै पहिलो रक्षकको रूपमा रहेको छन्त्याललको अनुभव छ । गत वर्ष रोगका कारण गोठमा कुकुर मरेपछि आफ्नो गोठमा १५ दिनको अवधिमा बाघ र चितुवाले १५ वटा र स्यालले ५ वटा भेडाबाख्रा मारेको छन्त्यालले जानकारी दिए । “कुकुर भएको समयमा अहिलेसम्म गोठमै बाघ र चितुवा आउन सकेका छैनन्, कहिलेकाहीँ कुकुरको आँखा छलेर चरणक्षेत्रमा भने आक्रमण हुने गरेको छ, भेडीगोठको रक्षक भनेकै कुकुर हो”, उनले भने । 

भेडीगोठमा रहेका भेडाबाख्रासँगै कुकुरहरु समेत चरणक्षेत्रमा जाने गर्छन् । बेँसीदेखि हिमालको फेदीसम्म घना जंगलका बीचमा गोठ राख्दै आएका मल्कबाङका अर्का भेडापालक कृषक कमरा विकले कुकुरहरु आफ्नो सुरक्षाको सिपाही र गोठको सारथी भएको बताए । जंगली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने चलन रहेको छ । दिनको समयमा चरण क्षेत्रमा जाने कुकुरहरु रातको समयमा भेडाबाख्रा बसेको चौरको वरपर बसेर भेडाबाख्रा र गोठको पहरेदारको काम गर्ने विकको भनाइ छ । “यहाँ मेरो साथी भनेकै कुकुर हो, रात होस् या दिन, मेरो र गोठमा रहेका भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट बचाउने जिम्मा उसैको हो”, विकले भने  ।
 
घरपालुवा गुनिलो जनावरको रूपमा चिनिने कुकुर केही वर्ष अघिसम्म ग्रामीण भेगका घरघरमा पालिन्थे । समाज विकाससँगै गाउँघरमा समेत कुकुर पालन हराउँदै जान थाले पनि अनकन्टार जंगल र हिमालको फेदीमै पुगेर गरिने भेडाबाख्रा पालनका लागि भने कुकुर अत्यन्तै महत्वपूर्ण र उपयोगी रहेको छ । 

कतैबाट बाहिरी नचिनेको मानिस र जंगली जनावर गोठ र भेडाबाख्रातर्फ अघि बढेमा ठूलो स्वरले भुक्ने कुकुरको काम हो । कुकुर जनावर भए पनि हिमाली भेगमा रहेका भेडाबाख्रा, गाईभैसीँका गोठहरुमा भने कुकुरको भूमिका जनावरको नभई एक प्रतिबद्ध रक्षकको रूपमा देखिन्छ । एकान्त, बस्तीदेखि धेरै टाढा र घना जंगलमा बस्ने सबैजसो गोठालाहरुले साथी र प्रतिबद्ध रक्षकको रूपमा कुकुर पालन गर्ने गरेको पाइएको मल्कबाङका युवा अमर छन्त्यालले बताए ।
 
पछिल्लो समय शहरी क्षेत्रमा सोखका लागि कुकुर पाल्ने क्रम बढिरहेको सन्दर्भमा दुर्गम र ग्रामीण बस्तीका भेडाबाख्रा र गाईभैँसी पालन गर्ने कृषकहरु भने कुकुरलाई आफ्नो अङ्गरक्षककै रूपमा पालन गर्ने गरेको पाइन्छ । हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार पर्वअन्तर्गत शनिवार कुकुरको पूजा गरी कुकुर तिहार मनाइयो । हिन्दू मान्यताअनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको वाहनको रूपमा कुकुरलाई पूजा गरिन्छ । कुकुर मानिसको नजिकको साथीको रूपमा चिनिन्छ भने आज्ञाकारी र कर्तव्यपालक जनावरको रूपमा समेत लिने गरिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ