arrow

गगन थापाले विद्यार्थीहरुका लागि फेरि ल्याए ‘भाइबहिनी अभियान’

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
gagan-thapa3.JPG

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा पूर्व मन्त्री गगनकुमार थापाले विद्यालयका विद्यार्थीहरुका लागि ‘भाइबहिनी अभियान’ फेरि संचालन गरेका छन् । कोरोना भाइरसको महामारीका बीच अप्ठेरोमा परेको शैक्षिक क्षेत्रलाई सघाउने उद्धेश्यले फेरि एकपटक यो अभियान भाइटीकाको दिनदेखि शुरु गरेको नेता थापाले सामाजिक संजाल फेसबुकमार्फत जनाएका छन् । 

उनले शिक्षा मौलिक हक भएको भन्दै यसबाट कुनै पनि विद्यार्थी वञ्चित हुन नहुने भन्दै सबैले आ–आफ्नो ठाउँबाट विद्यार्थीलाई शिक्षा दिन लाग्नुपर्नेमा समेत जोड दिएका छन् । नेता थापाले भनेका छन्, ‘हामीले संविधानमा लेखेका छौं शिक्षा मौलिक हक हो । अर्थात् नेपालका हरेक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्नु उनीहरुको हक हो । यसलाई उपलब्ध गराउनु राज्यको जिम्मेवारी हो । राज्यले संविधानमा लेखेको यो जिम्मेवारी निर्वाह गर्न सक्ने बनाउनका निम्ति सांसदको रुपमा गर्ने कामहरु छँदैछ । यतिले मात्र पुग्दैन । नीतिनियम बनाएर, स्रोत साधन विनियोजन गरेर अपेक्षित परिणामका लागि प्रयत्न गर्ने एउटा कुरा भयो । तर यो बीचमा प्रत्येकले आफ्नो ठाउँबाट सानो सानो काम गरेर भए पनि संविधानमा लेखिएको यो कुरालाई प्राप्त गर्न सक्ने दिशातर्फ काम गर्ने हो भने यसलाई मद्धत पुर्याउँछ भन्ने हो ।’

नेता थापाले भाइबहिनी अभियान पहिले पनि चलाएका थिए । उनी अगाडि भन्छन्, ‘केही वर्षगाडि मैले ‘भाइबहिनी’ भन्ने अभियान प्रारम्भ गरेको थिएँ । जस अन्तर्गत पढ्ने मौका नपाएका भाइबहिनीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने, उनीहरुको अभिभावकत्व ग्रहण गर्ने, शैक्षिक सामग्री उपलब्ध गराउने यस्ता केही प्रयत्नहरु भए । त्यसपछाडि केही समय यो प्रयत्नलाई मैले स्थगित गरेँ । आज भाइटीकाको दिन मैले फेरि सबै भाइबहिनीहरुलाई सम्झेर यो अभियानको प्रारम्भ गरेको छु ।’

यसपटकको भाइबहिनी अभियान कसरी अगाडि बढाउँछन् त भन्नेबारेसमेत नेता थापाले भनेका छन्, ‘यो पटक अलिकति फरक ढङ्गबाट कोरोना महामारीको जुन चरणबाट हामीहरु गुज्रिरहेका छौं हाम्रो सबै जीवन प्रभावित छ । त्यो मध्येको एउटा महत्वपूर्ण कुरा भनेको हाम्रो विद्यालय पनि प्रभावित छ । अझै कति समयसम्म यस्तै अवस्था रहने हो हामी कसैलाई पनि थाहा छैन । विद्यालयहरु बन्द छन् । वैकल्पिक माध्यमहरुबाट सिक्ने सिकाउने प्रयासहरु भइरहेको छ । तर जति भए पनि यो प्रयासहरु पर्याप्त हुन सकिरहेको छैन ।’

उनले यो अभियान आफ्नो निर्वाचन क्षेत्रमा लागु गर्ने पनि उल्लेख गर्दै भन्छन्, ‘यही क्रममा मैले मेरो निर्वाचन क्षेत्र काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ आफ्नो यहाँ भित्र यो क्षेत्रका मतदाताका छोराछोरीहरु, केटाकेटीहरु जो विद्यालयमा पढिरहेका छन् तर अहिले घरमै बसिरहेका छन् उनीहरुको पढाइमा उनीहरुको सिकाइमा केही मद्धत पुग्छ कि भन्ने उद्धेश्यले भाइबहिनी अभियालाई फेरि शुभारम्भ गरेको छु ।’

यो अभियानलाई अझ फराकिलो बनाउने विश्वास दिलाउँदै नेता थापाले भनेका छन्, ‘अलि पछाडि यो अभियानलाई अलि फराकिलो बनाउँदै लिएर जान्छु । अहिलेलाई भने विद्यालय बन्द रहने अवधि सम्मका लागि अर्थात् अबको केही हप्ताहरुसम्म निरन्तर रुपमा म सामाजिक संजालको आफ्नो माध्यमबाट र अरु माध्यमबाट शैक्षिक सामग्रीहरु उपलब्ध गराउने, पठनपाठनमा अप्ठेरो भएकाहरुलाई त्यसमा मद्धत गर्ने र अहिलेको लागि भने मेरो आफ्नो अनलाइन प्लाटफर्महरुबाट यसको निम्ति यो माध्यमहरुलाई प्रयोग गरेर विद्यालयहरुले पढाइरहेको कुरा त भैहाल्यो तर यो भन्दा बाहेक विद्यालयको पढाइलाई मद्धत पुग्ने गरी खास गरी सिकाइलाई मद्धत पुग्ने गरी अभिभावकहरुसँग, शिक्षकहरुसँग जोडिएर केही कार्यक्रमहरु हामीले संचालन गर्नेछौं ।’

यसबाट विद्यार्थीलाई ठूलो मद्धत पुग्ने विश्वास गर्दै नेता थापाले भनेका छन्, ‘म आशा गर्दछु मेरो क्षेत्रका मतदाताहरु जसका केटाकेटीहरु अहिले विद्यालयमा छन्, पढिरहेका छन् उहाँहरुको लागि यो उपयुक्त हुनेछ र उहाँहरुको लागि मात्र हैन अरु विद्यार्थीहरु पनि यसबाट केही न केही लाभान्वित हुन पाउनु हुन्छ । हुन सक्नुहुन्छ । जतिबढी लाभान्वित हुनुभयो त्यति बढी खुशी लाग्ने कुरा हो ।’

सबैको साथ र सहयोगको अपेक्षा गर्दै नेता थापाले अन्त्यमा भनेका छन्, ‘मलाई यो अभियान आज भाइटीको पवित्र दिनमा शुरु गर्न पाउँदै गर्दा एकदमै खुशी लागेको छ । अबको केही हप्ता यही सामाजिक संजालको माध्यमबाट र अरु माध्यमबाट भाइबहिनी अभियान अन्तर्गतका कार्यक्रमहरु विस्तारै विस्तारै यसलाई अगाडि बढाउँदै लैजाने छु । यहाँहरु सबैको साथ र सहयोग रहने छु भन्ने विश्वास गर्छु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ