arrow

परीक्षण कम भएसँगै घटे संक्रमित, सत्र जनाको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर २ मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस संक्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा संक्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् ।

सोमबार ४ हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा  १ हजार १९७ जनामा संक्रमण देखिएको थियो । नयाँ संक्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन् । यस्तै ३० हजार ९८६ सक्रिय संक्रमित रहेका छन् । 

मंगलबार देखिएका संक्रमितमध्ये ३३९ जना उपत्यकाका छन् । तिमध्ये १४६ जना महिला र १९३ जना पुरुष छन् । प्रदेश नं १ मा आठ, प्रदेश नं २ मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७  र सुदूरपश्चिमा दुई जनामा संक्रमण देखिएको छ ।

यस्तै संक्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसियु)मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । आइसियुमा प्रदेश नं १ मा ४३, प्रदेश नं २ मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन् । भेन्टिलेटरमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन् ।
 
त्यस्तै मंगलबार २ हजार ८७८ जना  संक्रमित निको भई घर फर्किएका छन । अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ ।

मंगलबार कोभिड–१९ को संक्रमणबाट सत्र जनाको निधन भएको छ । अहिलेसम्म एक हजार २४७ जनाको निधन भएको छ । यस्तै २८ हजार २०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन् ।

शुन्य संक्रमित भएको जिल्ला मनाङ  छ । पाँच सयभन्दा बढी संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ