arrow

१२ घण्टाभित्रै राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई भेट, संसद विगठनको तयारी

logo
प्रकाशित २०७७ मंसिर ३ बुधबार
oli-vidya.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टा नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई पटक भेटघाट गरेका छन् । मंगलबार राति १० बजेपछि राष्ट्रपति कार्यालय शितलनिवास पुगेका प्रधानमन्त्री ओली  बुधबार बिहान १० बजे पुनः राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । 

‘चिनिया राजदूत हाउ यान्छीले प्रधानमन्त्री निवासमा भेटघाट गरेपछि तुरुन्तै राष्ट्रपतिलाई भेट्न जानु भएको थियो । अहिले पनि उहाँ राष्ट्रपति कार्यालय जानुभएको छ’, बालुवाटार निकट स्रोतले भन्यो । 

तर प्रधानमन्त्रीलाई १२ घण्टा नबित्दै राष्ट्रपतिसँगको भेटघाट किन आवश्यक परेको हो भन्ने बारेमा केही खुलाइएको छैन । ‘विशेष परामर्श भनिएको छ कारण केही खुलाइएको छैन’, बालुवाटार निकट स्रोतले भन्यो । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संसदलाई छलेर दल दर्तासम्बन्धी अध्यादेश ल्याउन लागिपरे पनि राष्ट्रपति भण्डारीले त्यसो नगर्न सुझाव दिएकी थिइन् । तर ओलीले बुधबार दिउँसो २ बजे आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक राखेर बिहान १० बजे राष्ट्रपति कार्यालय पुगेका हुन् ।

‘उहाँ बैशाख ८ गते दोहोर्याउन लाग्नु भएको छ त्यो राम्रो पक्ष होइन’, एक नेकपा सचिवालय सदस्यले भने । उनले थपे, प्रधानमन्त्रीमा बढी नै अहंकार देखिएको छ यसले नेकपालाई खाल्डोमा लैजान्छ ।’

ती सदस्यका अनुसार संसद विगठनबारे ओलीले केही दिनदेखि परामर्श गरिरहेकाले मुलुक मध्यावधि निर्वाचनतर्फ धकेलिन सक्ने संभावना पनि रहेको छ ।
 
प्रधानमन्त्री ओलीले बैशाख ८ गते दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । चौतर्फी विरोध भएपछि उक्त अध्यादेश वैशाख १२ गते खारेज गरिएको थियो ।  तर एक मन्त्रीका अनुसार अहिले अध्यादेशका विषयमा केही बताइएको छैन ।  

प्रधानमन्त्री ओलीले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ । सचिवालयको बैठक नरोकिने भए पनि ओलीले मन्त्रिपरिषदको बैठक एक घण्टा पर सारिएको थियो । मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्दै आएपनि बुधबार आकस्मिक रुपमा बोलाइएको कारणबारे मन्त्रिहरुलाई कुनै जानकारी दिइएको छैन ।

यसअघि पनि उनी संसद विगठनका लागि अगाडि बढेका ओली सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय समितिमा समेत अल्पमतमा पर्ने निश्चित भएपछि संसद विघठन नै उत्तम विकल्प भन्दै ओली अगाडि बढेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ