arrow

नेकपाको पार्टी एकताको बाँकी काम रोकियो, प्रचण्डलाई प्रत्युत्तर दिने ओलीको तयारी 

आरोप प्रत्यारोपको दस्तावेजले पार्टी फूटलाई नै बल पुर्‍याउने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ३ बुधबार
ncp-sachibalaya4.jpg

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद बढ्दै गएपछि फूटलाई सहयोग पुग्नेगरी पार्टी एकता प्रकृया अवरुद्ध भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले निराधार आरोप लगाएको भन्दै बुधबारको सचिवालय बैठकमा आरोपलाई प्रमाणित गर्न चुनौति दिदै तत्काललाई पार्टी एकताको बाँकी काम रोकिने बताएका थिए ।

प्रधानमन्त्री ओलीले पार्टी एकताको काम तत्काल रोक्ने बताएपछि पार्टी एक नभएको संकेतका रुपमा लिइएको छ । पार्टीका शीर्ष नेताहरुले सचिवालय बैठकमै विवाद सुल्झाउने प्रयास असफल भएको छ ।लिखित रुपमा दस्तावेज तयारी पारी विवादलाई संस्थागत गर्न लागिएको बेला ओलीको सो अभिव्यक्तिपछि पार्टी फूटको औपचारिक घोषणा गर्न मात्रै बाँकी भएको बताउन थालिएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनका विरुद्ध अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छुट्टै प्रतिवेदन पेश नगरेसम्म पार्टी एकताको कुनै पनि काम अघि नबढ्ने भएको हो । 

कात्तिक २८मा कार्यकारी अध्यक्ष दाहालले १९ पेज लामो प्रतिवेदन पेश गरेका थिए । सो प्रस्तावलाई प्रतिउत्तर शैलीमा ओलीले पनि अर्को बैठकमा प्रस्ताव पेश गरेपछि छलफल हुने भएको छ । ‘मेरा विरुद्ध कमरेड प्रचण्डले एउटा आरोप पत्र पेश गर्नु भएको छ त्यसलाई म पूर्णत खारेज गर्छु, अस्वीकार गर्छु, त्यसको जवाफ दिन मलाई १० दिनको समय चाहिन्छ’, बैठकमा ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।  
ओलीको सो भनाईलाई पुष्टि गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता प्रकृया तत्काल अघि नबढ्ने बताएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएका ‘तथ्यहीन, आधारहीन, पार्टी एकतामा गम्भीर रूपमा आँच पुर्याउने मनसाय र उद्देश्यबाट प्रेरित आरोपहरूलाई आफूले अस्वीकार गर्ने र खारेज गर्ने उद्घोष गरेको गर्नुभएको छ, त्यसको व्यवस्थित र सामग्रीका रूपमा खण्डन गर्ने कुराको समेत घोषणा गर्नुभएको छ’, उनले भनेका छन् । प्रचण्डले दस्तावेजमार्फत लगाएका आरोपहरूको छिनोफानो नगरी पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन सहज र सम्भव नहुने कुराको समेत उल्लेख गरेको उनले बताएका छन् । ‘यो गम्भीरतालाई पार्टी एकताको पक्षमा उभिनुभएका नेकपाका सबै तहका नेता, कार्यकर्ताहरूले बुझौं र त्यसैअनुसार आफूलाई तयार बनाऔं’, उनले भनेका छन् ।

सचिवालय बैठक आउदो मंसिर १३ गते बस्ने भएपछि प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनकै रुपमा अर्को प्रस्ताव ल्याउने भएका हुन् । बुधबारको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीलेसमेत सचिवालयमा छुट्टै प्रस्ताव पेश गर्ने जानकारी दिएपछि १० दिनसम्म बैठक स्थगित भएको बताएका थिए । उनका अनुसार मंसिर १३ गते बस्ने बैठकमा ओलीले छुट्टै राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । बैठकमा दुई अध्यक्षका पत्र र दुई अध्यक्षले नै पेश गरेका प्रतिवेदनबारे छलफल हुनेछन् । अब नेकपाका दुई अध्यक्षले समानन्तररुपमा दुई वटा प्रतिवेदन पेश भई छलफल हुने भएपछि पार्टी अनौपचारिक रुपमा फूट उन्मुख देखिएको छ । 

नेकपा स्रोतले जनाए अनुसार दुवै अध्यक्षले बेग्ला बेग्लै प्रस्ताव पेश गर्ने भएपछि विवादलाई संस्थागत गरेर तल्लो तहसम्म पुर्याउन अस्त्र प्रयोग गर्न थालिएको छ । प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्वच्छ सरकार र सुशासनको कार्यदिशाविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउनुभयो भनेर प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन् । उनले त्यतिमात्रै भनेका छैनन देश र जनताको आवश्यकता र आकांक्षाप्रति संवेदनशील हुनुको साटो उहाँ व्यक्तिवाद र व्यक्तिपूजातर्फ प्रवृत्त रहनुभयो भन्दै तत्काल नगरी नहुने काममा लाग्नु भन्दा कार्यान्वयन नहुने कुरा गरेर सस्तो लोकप्रियता आर्जन गर्नेतर्फ उहाँले बढी रुचि राख्नुभयो भनेर ओलीको विकासे सपनाको पुलिन्दालाई पनि व्यंग्य गरेका छन् ।

‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिशनखोरी नियन्त्रण र समाप्त गर्नेतर्फ कुनै सार्थक पाइला चालिएन । नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारबाट जनताले सुशासनको आशा गरेका थिए । हाम्रो पार्टीको सार्वजनिक प्रतिबद्धता पनि त्यही थियो । तर यस अवधिमा भ्रष्टाचारका अनेकौं प्रकरण भए । यस्ता प्रकरणहरूमा अख्तियार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति निर्दोष वा दोषी भए नभएको निर्क्यौल गर्नुपर्नेमा आरोपित व्यक्तिहरू निर्दोष रहेको घोषणा प्रधानमन्त्री स्वयंले गर्नुभयो । आरोपित माथि छानबिन समेत नहुने स्थिति सिर्जना गरियो । यसबाट जनतामा पार्टी र सरकारप्रति नकारात्मक धारणा सिर्जना भयो’, उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । सार्थ सत्तामा रहेको पार्टीभित्र भ्रष्टाचार, विचलन, नोकरशाहीशैली, व्यक्तिवाद, पदीय अहंकार, नैतिक र चारित्रिक स्खलन र जनताबाट अलगावको प्रवृत्ति देखापर्ने खतरा अन्य बेला भन्दा प्रवल हुन्छ भन्दै यस्ता प्रवृत्तिहरूलाई सच्याउन व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्छ भनी प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले ‘वाइड बडी विमान खरिद, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयात घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीदमा ओम्नी समूहको साँठगाँठ र अनियमिता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजश्वका दर रेट परिवर्तनलाई चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर केपी शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो’ भन्दै गम्भीर आरोप लगाएपछि ओलीले पनि त्यसको प्रतिरक्षाका लागि अर्को प्रतिवेदन तयार पार्न १० दिन समय मागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ