arrow

ऐन बनेको १० महिनापछि प्रहरी समायोजनको ओएनएम पास, उपत्यका प्रहरीको नेतृत्व एआइजीलाई

एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ४ बिहिबार
Nepal-police_HQ.jpeg

काठमाडौं। सरकारले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ बनेको १० महिनापछि प्रहरी समायोजन सम्वन्धि ओएनएम पास गरेको छ। ऐनको दफा ४ मा भने ऐन लागू भएको मितिले ३० दिनभित्र समायोजन प्रक्रिया सुरु गर्नुपर्ने भनिएको छ। ‘मन्त्रालयले यो ऐन प्रारम्भ भएको मितिले तीस दिनभित्र प्रहरी कर्मचारी समायोजन गर्ने प्रयोजनका लागि कर्मचारीको विवरण तयार गर्नेछ,’ दफा ४ मा लेखिएको छ।

सो ऐन २८ माघ २०७६ मा जारी भएको थियो। जसअनुसार गत वर्षको २८ फागुनमा नै समायोजन प्रक्रिया सुरु हुनु पर्ने थियो। गृह मन्त्रालयका प्रसासन शाखाका सहसचिव थानेश्वर गौतमले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएसगै प्रहरी समायोजनको प्रकृयालाई अघि बढाउन बाटो खुलेको बताए। गृह मन्त्रालयले गत २८ साउनमा पठाएको ओएनएमलाई मन्त्रीपरिषद्ले पास गरेको र सो को जानकारी मन्त्रालयलाई बुधबार प्राप्त भएको उनले जनाएका हुन।

गृह मन्त्रालयले मन्त्रीपरिषद्मा सिफारिस गरि पठाएको प्रहरी समायोजन सम्वन्धि प्रतिवेदन विगत तीन महिनादेखि मन्त्रिपरिषद्मै अड्किंदै आएको थियो। उनका अनुसार पारित ओएनएममा उपत्यकाको सुरक्षाको नेतृत्व एआइजीलाई तोकिएको छ। ‘एआइजी नेतृत्वमा रहने उपत्यका प्रहरी कार्यालयले राजधानीका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा हेर्ने छन, महानगरीय प्रहरी कर्यालयको नाम अब उपत्यका प्रहरी कार्यालय रहनेछ,’ सहसचिव गौतमले हाम्राकुरासँग भने।

ओएनएममा कुन प्रदेशमा कति प्रहरीको दरबन्दी रहने संख्या सहित प्रष्ट तोकिएको छ  ‘प्रहरी समायोजनको बाटो खुल्यो, अब काम धमाधम अघि बढ्छ,’ गौतमले भने।

गृहले गत साउनमा पठाएको प्रहरी समायोजनको प्रस्तावको खाकामा समायोजनका लागि जेष्ठता, गृहजिल्ला, इच्छुक संख्या र एकवर्ष भन्दा बढी सो प्रदेशमा काम गरेको सहित ६ आधारमा समायोजन हुने उल्लेख छ। मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी समेत थप गरेको छ।

गृह मन्त्रालयले पाँच डीआईजीको दरबन्दी थप्नुपर्ने राय सहितको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएकोमासरकारले एक एआईजीको दरबन्दीसमेत थप गरेर गृहको प्रस्ताव स्वीकृत गरेको हो। थप गरिएको दरबन्दी उपत्यका प्रहरीको नेतृत्वमा रहनेछ।

हाल नेपाल प्रहरीमा एक जना प्राविधिक तर्फकासहित ४ जना एआइजी छन। एक दरबन्दी थपसँगै अब एआइजीको संख्या ५ पुग्नेछ। एआईजी बढुवा प्रतिष्पर्धाका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन।

यस्तै यसअघि प्राविधिक बाहेक २६ जनाको दरबन्दी रहेको डिआइजीको दरबन्दीलाई कटौती गरेर सरकारले १४ मा झारेको थियो। अब थप हुने सहित नेपाल प्रहरीमा पाँच एआइजी र १९ डिआइजी हुनेछन। यस बाहेक नेपाल प्रहरीमा ८ जना प्राविधिक तर्फका डिआइजी छन्।

हरि पाल, निरज शाही र प्रधुम्न कार्की एआईजीमा बढुवा भएदेखि नै नेपाल प्रहरीमा तीन डिआइजीको दरबन्दी रिक्त रहदै आएको छ। अब थप भएका सहित एकै पटक एसएसपीबाट आठ जना डिआइजीमा बढुवा हुनेछन।

आकांक्षी धेरै
डिआइजी बढुवाका लागि आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐर, पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा छन।

यसैगरी उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको आकांक्षी छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ