arrow

माधव नेपाललाई तर्साउँदै केपी ओली, बालुवाटार जग्गा प्रकरणमा नेपालविरुद्ध सुनुवाइ हुँदै 

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
madhav-nepal.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण नेताहरुबीच माथापच्चिसी चलिरहँदा बहुचर्चित बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्धको सुनुवाई आइतबार हुँदैछ । उक्त जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाानेले दायर गरेको रिट निवेदनको सुनुवाइ आइतबार सर्वोच्च अदालतले गर्न लागेको हो । 

नेकपाको आन्तरिक विवाद चरम सीमामा पुगेको बेलामा सर्वोच्च अदालतले माधव नेपालविरुद्धको रिटलाई अग्राधिकार दिएर आइतबार सुनुवाइ गर्न खोज्नुलाई भने विभिन्न चलखेलका रुपमा बुझ्न थालिएको छ । न्यौपानेले २०७६ माघ २९ मा माधव नेपाललाई मुद्दा दायर नगरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधीवक्ताको कार्यालयलाई पनि विपक्षी बनाई रिट दायर गरेका थिए । 

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासले नेपालविरुद्ध सुनुवाइ गर्न लागेको हो । रिटको सुनुवाई आइतबारै हुने गरी तोकिएको छ । भट्टराई तिनै न्यायाधीश हुन् जसले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिएका थिए । तर पछि भने गौतमको पक्षमा आदेश भएको थियो । 

नेकपाको विवाद चर्किएका बेलामा इतर समूहका नेता माधव नेपाल विरुद्धको रिटलाई अग्राधिकारका साथ सुनुवाइमा राखिनुलाई कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीलाई तर्साउन खोजेको अर्थमा पनि लिएका छन् । सरकारले राम्रा काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्दैआएका वरिष्ठ नेता नेपाललाई ललिता निवास जग्गा प्रकरणमा फसाउने र प्रचण्डलाई अख्तियार लगाउने दाउमा सत्तापक्ष रहेको भन्ने बुझाई नेकपाकै एक खेमाको रहेको छ । 

बहुचर्चित ललिता निवास बालुवाटारको जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूतपूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित एक सय ७५ जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ