arrow

भत्ता बुझेर पनि पोशाक लगाउँदैनन् सरकारी कर्मचारी, सिंहदरबार छिर्न नदिने नियम बनाइँदै  

logo
प्रकाशित २०७७ मंसिर ७ आइतबार
nijamati-karmachari.jpg

काठमाडौं । सरकारी कर्मचारीले हरेक वर्ष १० हजार रुपैयाँ पोशाक भत्ता बापत बुझ्ने गर्छन् । तर पनि आधाभन्दा बढी सरकारी कर्मचारीहरु तोकिएको पोशाक नलगाएरै कार्यालय जाने गर्छन् । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा हरेक वर्ष पोशाक नलगाउने कर्मचारीलाई कारबाही गर्न सम्बन्धित विभागीय प्रमुखलाई सिफारिश गर्ने गरेको छ । 

केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षमा केन्द्रका कर्मचारीहरुले गरेको छड्केमा काठमाडौमा २ सय २०, ललितपुरमा ७३ र भक्तपुरमा ४६ कर्मचारीले पोशाक लगाएको देखिएन । उनीहरुलाई कारबाही गर्न केन्द्रले सम्बन्धित कार्यालयका विभागीय प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको केन्द्रले तयार गरेको वार्षिक प्रतिबेदनमा जनाएको छ । तर केन्द्रले गरेको सिफारिशलाई सम्बन्धित विभागीय प्रमखले कहिल्यै कायान्वयन गर्दैनन् । 

सरकारी कर्मचारीले पोशाक नलगाउनुमा प्रमुख कारण हो, अनुशासनहिन प्रवृत्ति । पोशाक लगाएमा कार्यालय समयभित्र, होटल, रेष्टुरेष्ट तथा अन्य व्यक्तिगत प्रयोजनमा जान पाइँदैन । कार्यालय समय पछि पनि सरासर घर आउनु पर्छ । सरकारी पोशाक लगाएर कार्यालय नगइ अन्य ठाउँमा गए सरकारी कर्मचारी भएको पहिचान खुल्छ । सरकारी पोशाक लगाएर लोकसेवा आयोगका तयारी कक्षामा अध्यापन गर्न पनि नैतिक रुपमा गाह्रो हुन्छ ।

 ‘त्यसैले सरकारी कर्मचारीले सकेसम्म पोशाक नलाउने परम्परा छ’ संघीय मन्त्रालयका एक सहसचिवले भने । केही सरकारी कर्मचारी अहिले पनि कार्यालय समयभित्र लोकसेवा अयोगको तयारी कक्षा लिने गर्छन । त्यसैले धेरैजसो तयारी कक्षा सिंहदरबार वरिपरि राख्ने गरिएको छ ।  

तोकिएको पोशाक नलाएर कार्यालयमा जाने कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगाम लगाउने निर्णय गरेको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले एक हप्ता भित्र तोकिएको पोशाक नलगाउने कर्मचारीलाई सिहंदरबारभित्र छिर्न नदिने नियम बनाउने बताए । ‘तोकिएको पोशाक नलगाएका कर्मचारीहरु अहिले पनि संघीय मन्त्रालयमा छिर्न पाउदैनन् । एक हप्ताभित्रै सिंहदरबार भित्र छिर्न नदिने नियम बनाउदै छौ’ अर्यालले भने । 

सिंहदरबार बाहेक अन्य ठाउँमा सरकारी कर्मचारीलाई अनिवार्य पोशाक लगाउनु पर्ने नियम कार्यान्वयन गर्न सम्बन्धित विभागका विभागीय प्रमुखको जिम्मेवारी हुने उनको भनाइ छ । अर्याल संघीय मन्त्रालयमा सरुवा भए पछि उनले यस्तो नियम बनाएका हुन् । सतर्कताले गरेको छड्के अनुगमनमा हरेक वर्ष तोकिएको समयभित्र (बिहान सवा दश बजेसम्म) कार्यालयमा नपुग्ने कर्मचारीलाई कारबाही गर्न केन्द्रले सिफारिश गर्ने गर्छ । 

यो सिफारिश पनि कहिल्यै कार्यान्वयन हुँदैन । तोकिएको पोशाक लगाउँदा तोकिएको समयभित्रै कार्यालयमा पुग्न कर्मचारीलाई नैतिक जिम्मेवारी हुन्छ । त्यसैले तोकिएको समयमा कार्यालयमा जान अटेर गर्ने कर्मचारीहरु पोशाक नलाउन पनि अटेर गर्ने गरेको संघीय मन्त्रालयका एक उच्च कर्मचारीको बुझाई छ । 

सरकारी कर्मचारीलाई अनुशासित, जिम्मेवारी र मर्यादित बनाउन सरकारले सरकारी कर्मचारीकोलागि पोशाक तोकेको छ र पोशाक वापत हरेक वर्ष पोशाक भत्ता दिने गर्छ । पोशाक भत्ता स्थायी कर्मचारीहरुले मात्र पाउदैनन, करार, ज्यालादारी तथा अस्थायी कर्मचारीहरुले पनि पाउछन् तर करार, ज्यालादारी तथा अस्थायी कर्मचारीहरुले तोकिएको पोशाक नलाउने प्रवृत्ति झन् बढी देखिएको मन्त्रालयको बुझाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ