arrow

विजयकुमार शाह सबैभन्दा बढी कर तिर्ने करदाता, आयकरतर्फ चन्द्रको आइएमई र बैंकतर्फ नबिल

logo
हाम्रा कुरा
प्रकाशित २०७७ मंसिर ८ सोमबार
kardata-2077.jpg

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाह सबैभन्दा बढी कर तिने व्यक्ति बनेका छन् । उनले आर्थिक वर्ष २०७६–०७७ मा सबैभन्दा बढी कर तिरेका हुन् । व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरेबापत आन्तरिक राजश्व विभागले उनलाई सम्मान गर्ने भएको हो । 

विभागले कर दिवसका अवसरमा अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको छ । जसमा शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा परेका हुन् । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी पर्दछन् ।

शाहका यी कम्पनीबाट रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर लगायत उत्पादन भइरहेको छ। 

त्यसैगरी विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा आईएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालको आइएई रेमिटेन्स कम्पनी परेको छ । ढकाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवारसमेत हुन् । विदेशबाट रकम भित्र्याउने अग्रणी कम्पनीको रूपमा आइएमई धेरै आयकर तिर्नेमा सम्मानित हुँदै आएको छ । 

त्यस्तै बैंकतर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक परेको छ । कोरोना भाइरसको महामारीका बीच पनि नेपालको सबैभन्दा ठूलो घरानियाँ चौधरी ग्रुपको मुख्य लगानी रहेको नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कमाइ गर्ने तीन बैंकभित्र परेको छ । 

सबैभन्दा धेरै आयकर तिर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल, व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेटेड, निर्याततर्फ डाबर नेपाल, कृषि तथा पशुपक्षी उद्योगमा अन्नपूर्ण एग्रोभेट प्राइभेट, सहकारीतर्फ छिमेकी लघुवित्त, बीमातर्फ नेपाल पुनर्बीमा, शिक्षण सेवातर्फ मणिपाल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी, मध्यमस्तरीय करदातामा कामना सेवा बैंक लिमिटेड, मूल्य अभिवृद्धि करतर्फ  घोराही सिमेन्ट पनि सम्मानित हुने भएका छन् । 

राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा आइतबार विभागमा भएको नवौं कर दिवसको समापन कार्यक्रममा धेरै कर तिर्नेको नाम घोषणा गरिएको हो । 

हरेक मंसिर १ गते कर दिवस मनाउने गरिए पनि यसपटक उक्त दिन तिहारको दिन परेकाले उक्त समयमा करदाता दिवस मनाउन नसकिएको जनाइएको छ । त्यसैगरी कोरोना भाइरसको महामारीका कारण पनि औपचारिक कार्यक्रम गर्न नसकिएको विभागले जनाएको छ । 

विभागले कोरोना संक्रमण कम भएपछि औपचारिक कार्यक्रम गरेर धेरै कर तिर्नेलाई सम्मान गरिने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ