arrow

सत्ता संकट पर्दा ओलीका सुत्रः कि नक्सा देखाउने, कि त ठोरीका राम  

विवादकै बिच आएको थियो रातारात राजनीतिक दल सम्वन्धि अध्यादेश

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ८ सोमबार
kp-oli1.JPG

काठमाडौं । हरेक समय नेपाली राजनीतिमा सत्ता कसरी जोगाउने र आफू इतरकालाई कसरी तर्साउने भन्ने खेल भइ नै रहन्छ । नेपाली राजनीतिमा त्यस्ता चतुर खेलाडी एकपछि अर्को गर्दै हुर्कदैं छन् । अहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । दुई जना अध्यक्ष भएका पार्टीमा एक अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाल नाम मात्रैको अध्यक्ष छन् । 

२०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि केपी ओलीको हातमा प्रधानमन्त्रीको पद पुग्यो । तत्कालिन माओवादी र एमाले बीचको चुनावी एकतासगै दुई पार्टीका बिचमा अन्ततः ३ जेठ २०७५ मा एकीकरण पनि भयो । तर अहिलेसम्म पनि दुई दलको एकताले नेता कार्यकर्तालाई ढुक्क बनाउन सकेको छैन । हरेक नेता कार्यकर्तामा पार्टी भित्र देखिएको विवादसँगै मनमा चिसो छ । दुई पाइलटले बेला बेला नेकपाको उडानलाई दुर्घटनामा लैजाने त्रास नेकपाका नेता कार्यकर्तामा निरन्तर छ । 

नेकपा भित्र विवाद सुरु भएको दुई दलको एकता भएदेखि नै हो । तर विवाद सतहमा आएको भनेको आलोपालो प्रधानमन्त्रीको विषय विन्दुको उठानबाट हो । सत्ताको नेतृत्व फेरबदलको विषयको विवादकै बीच गत ८ बैशाखमा सरकारले आफ्नै दल भित्र समेत छलफल बिना नै राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको थियो । त्यस बखत राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै सो अध्यादेश स्वीकृत गरेकी थिइन भने प्रतिपक्षी दल कांग्रेस सहितको विरोध चर्कदै गएपछि सरकार १२ बैशाखमा सो अध्यादेश फिर्ता लिन बाध्य भएको थियो । 

सरकारले अध्यादेश फिर्ता लिइसकेको अवस्थामा पनि विवाद कम भएन । सत्तारुढ दलका नेताहरु एकल र सामुहिक रुपमा गुट उपगुटको भेलामा ब्यस्त रहे । बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेब गौतम पनि धेरै नै सक्रिय बने । सो समय नेकपा पार्टी फुट्न सक्ने र सरकार परिवर्तन हुनसक्ने सम्मका अड्कलबाजिहरु भए । देशी विदेशी शक्तिहरुको सक्रियता गुपचुप रुपमा चलिनै रह्यो । सांसद किनबेच र अपहरणसम्मका हल्लाहरु चले । नयाँ दल गठनका लागि पनि रातारात प्रयत्न भए भने संघीय समाजवादी र नयाँ शक्ति बीच रातारात दल एकताको सहमती पनि भयो । 

पार्टीभित्र विवाद उत्कर्षमा पुगिरहेकै बेला २९ असारमा भानुजयन्तीका सन्दर्भमा प्रधानमन्त्री ओलीले एउटा अस्त्र फ्याँक्दै भने, ‘भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गर्यो, राम बिरगंजबाट पश्चिम नेपालको ठोरीमा जन्मिएका हुन ।’ त्यो एउटा अस्त्र पार्टी भित्रको विवाद नै थियो । 
सो क्रममा प्रधानमन्त्रीले भनेका थिए अयोध्या ठोरीमा, वाल्मिकी आश्रम (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टी यज्ञ लगाउने पण्डित रिडीको भएको र दशरथका सन्तान राम पनि नेपालकै भएको दाबी नै गरे । यतिमात्रै होइन पार्टी भित्रको विवाद बढ्दै गर्दा नेपालको नक्सा विवाद पनि सतहमा आयो । सरकारले कालापानी लिपुलेक र लिम्पीयाधुराका विषयमा छलफल गर्न सर्वदलीय बैठक आहवान गर्यो । सो भूमी नेपालकै रहेको भन्दै सबै दल नक्सा जारी गर्न सहमत भए । संसदले गत जेठमा नक्सा पनि जारी गर्यो । त्यस बखत नेकपाको विवाद केही मत्थर भए जस्तो भयो । 

नेकपा पटक पटक आन्तरिक कलहमा फस्दै गर्दा देश भित्र मात्र त्यसको असर देखिएन । दुई छिमेकी मुलुक चीन र भारतले पनि त्यसमा चासो राखेका खबरहरु बाहिरिए । नेपालका लागि चीनकी राजदुत त खुल्लमखुल्ला नेकपाका नेताहरुको घरदैलो धाउन थालिन । नेकपाको आन्तरिक कलह सुरु भएको एक वर्ष लगभग भइसकेको छ । यस बिचमा भारतीय रअ प्रमुख देखि भरतीय सेनाध्यक्ष समेत नेपाल आएका छन । ति भ्रमणहरु समेतलाई नेकपासँगको विवादमा जोडेर हेर्ने गरिएको छ । अहिले पनि नेकपाको विवाद जस्ताको तस्तै छ । विवाद मिलाउन नेपालका लागि चीनकी राजदुतको सक्रियता उस्तै छ । दुई छिमेकी मुलुकबाट एकपछि अर्को गर्दै भेटघाट बाक्लिदैं आइरहेका छन । भारतीय विदेश सचिव केही दिनमा नै नेपाल आउने तयारीमा छन । लगत्तै चीनका रक्षामन्त्री पनि नेपाल आउने तयारी छ । 

नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष ओली बिरुद्ध सचिवालय ३ मंसिरको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन । त्यसको जवाफ प्रधानमन्त्री ओलीले दिने तयारी गरिरहेका छन । यही बिचमा ६ गते शनिबार प्रधानमन्त्री ओलीले विपक्षी दलका सभापति शेरबहादुर देउवालाई भेटेर सत्तासहयात्राको प्रस्ताव गरेका खबरहरु पनि आइरहेका छन । देउवासँगको भेटलाई देखाएर ओलीले आफैं भित्रको विपक्षीलाई तर्साउन खोजेको समेत स्वयम नेकपाका नेताहरु नै बताउँदै आइरहेका छन । 
गत वर्षको पुसमा रिक्त सभामुख चयन गर्ने समयमा पनि नेकपा भित्र विवाद बढेको थियो भने पटक पटक सरकारका मन्त्री हेरफेर गर्दा र राजदुत नियुक्ती प्रकरणले समेत नेकपा भित्रको असन्तुष्टी चुलिंदै आइरहेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ