सहमहामन्त्री सुनिल थापालाई देउवाले दिए नियुक्तिपत्र
प्रकाशित २०७७ मंसिर ११ बिहिबार
370
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेर सहमहामन्त्री बनेका सुनिल थापाको समूहलाई सभापति शेरबहादुर देउवाले नियुक्ति पत्र दिएका छन। देउवाले मंगलबार सहमहमन्त्री थापा सहितको उनको समूहलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा नियुक्ति पत्र दिएका हुन।
राप्रपामा रहँदा थापा महामन्त्री थिए भने उनी सहित १६ केन्द्रिय सदस्य र अन्य गरी ३१ जनाको समुह गत १३ साउनमा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए। २८ कार्तिकमा बसेको केन्द्रिय समिति बैठकमार्फत सभापति देउवाले पूर्व सहमती अनुसार थापालाई सहमहामन्त्री पदमा मनोनित गरेका थिए।
त्यसबखत देउवाले रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, वावुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगीलाई केन्द्रीय सदस्य तथा दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्यमा गरेका थिए।
नियुक्ति पत्र दिंदै देउवाले पार्टीलाई आगामी निर्वाचनमा बलियो शक्तिका रुपमा उभ्याउने गरी अघि बढ्न निर्देशन समेत दिएका छन। उनले लोकतन्त्र बलियो बन्दा पार्टी बलियो हुने भन्दै लोकतन्त्रलाई मजबुत बनाउने दिशामा उभिन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन।
सो क्रममा सहमहामन्त्री थापाले भने जनताले देशमा कांग्रेसको नेतृत्व चाहेको र कांग्रेसले मात्रै मुलुकमा शान्ति र स्थिरता कायम गर्न सक्ने बताएका थिए।