शनिबारदेखि काठमाडौंमा चिसो बढ्ने, यस्तो छ देशभरको अवस्था
प्रकाशित २०७७ मंसिर १२ शुक्रबार
401
Shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
महाशाखाले गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने तथा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौंमा शनिबारदेखि चिसो बढ्छ– मौसमविद्
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार शनिबारदेखि काठमाडौं उपत्यकामा चिसो बढ्दै जानेछ । शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रह्यो । अघिल्ला दिनका तुलनामा तापक्रम बढेको हो ।
बिहान उपत्यकाको भिजिबिलिटी न्यून रहेको छ ।
बादल लागेकाले तापक्रम बढेको मौसमविद् मानन्धरले जनाइन् । उनले भनिन्, ‘बादल भएकाले तापक्रम बढेको हो । भोलि बिहानदेखि फेरि काठमाडौंमा चिसो हुन थाल्नेछ ।’
उपत्यकामा शुक्रबार आंशिकदेखि सामान्य बदली हुनेछ । अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने मानन्धरले बताइन् ।