arrow

नेकपाको हर्कतले देशमा मध्यावधि निर्वाचनको आवश्यकता– पूर्वमन्त्री बलायर

logo
प्रकाश बम, 
प्रकाशित २०७७ मंसिर १४ आइतबार
127093378_194985942291652_9.jpg

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले देशमा मध्यावधि निर्वाचन आवश्यकता परेको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री बलायरले यस्तो बताएका हुन् ।

झण्डै दुईतिहाई बहुमतसहितको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार पूर्ण असफल भएको उनले बताए । बलायरले भने,  ‘सरकार हरेक दृष्टिकोणबाट असफल भईसक्यो । यो हामीले मात्रै होइन, सत्ताधारी पार्टीकै नेताहरु बताइरहेका छन् ।’

जनताले दिएको जनमतमाथि चरम खेलबाड गरिएको नेता बलायरले बताए । ‘जनताले राजनीतिक अस्थिरताबाट आजित भएर स्थिर सरकारका लागि नेकपालाई दुईतिहाई दिएका हुन् । जुन म्याण्डेटअनुसार हामी (कांग्रेस) पूर्ण समय प्रतिपक्षमा छौ,’ उनले भने, ‘त्यो जनमतमाथि नेकपाले खेलवाड गरेको छ । ऐतिहासिक राजनीतिक बेइमानी र अपराध गरेको छ ।’ 

यस्तो परिस्थितिमा कांग्रेसलाई सत्ता सञ्चालनको निम्तो आउनुसमेत दुःखद रहेको उनले बताए । ‘दुईतिहाईको निर्लज्जताले हामीलाई सत्तामा आउन निम्तो गर्यो । योभन्दा जनमतकोे उपहास अर्को के हुन्छ ?’, उनले भने ।

देशको यस्तो विषम परिस्थितिमा कांग्रेस चुप लागेर भने नबस्ने नेता बलायरले बताए । ‘लोकतन्त्रलाई बचाउन, समृद्ध गर्न नेपाली कांग्रेस सदैब तत्पर छ । देशको परिस्थितिले मागेको भूमिका निर्वाह गर्न तयार हुन्छ,’ उनले भने ।

नेकपाको आन्तरिक कलह, विकसित हुँदै गएको परिस्थिति, सरकारको गैह्रजिम्मेवारी र संसदको अवस्था सबै दृष्टिकोणबाट मध्यावधि निर्वाचनको आवश्यकता देखिँदै गएको पनि उनले बताए ।

 ‘कम्युनिष्टहरु देश चलाउन सक्दैनन् भन्ने देखिइसक्यो । देशको अवस्थाले कांग्रेसको नेतृत्व माग्दैछ । तर संसदको स्वरुपले अवस्था जटिल छ,’ उनले भने,‘ यस्तो अवस्थामा देशले फ्रेस जनादेश लिँदा नै उपयुक्त हुन्छ ।’

यद्यपि नेकपाको जोडाई र फुटाईसंग कांग्रेसको कुनै भूमिका नरहेको उनले प्रष्ट्याए । उनले भने, ‘कम्युनिष्ट पार्टी मिलेर पूरै पाँच वर्ष सत्ता चलाओस् । देश र जनताको पक्षमा काम गरोस् । अनि त्यसपछिको आवधिक निर्वाचनमा आफ्ना कामहरु देखाउँदै हामीसंग प्रतिस्पर्धा गरोस् भन्ने हाम्रो चाहना हो । यसले लोकतन्त्र बलियो हुन्छ ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ