arrow

जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीको डेढ घण्टा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १४ आइतबार
china-defence-minsiter-nepal.jpg

काठमाडौं। एकदिने भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल वेई फेङ नेपाल आइपुगको छन्। उनले दिउँसो १२.३० देखि २ बजेसम्म जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गर्ने भएका छन्। त्यहाँ रहँदा उनले नेपाललाई करिब ५ अर्ब ४० करोड नेपाली रुपैयाँ सैन्य अनुदान हस्तान्तरण गर्ने बताइएको छ। यसबाहेक चीन र नेपालबीचको संयुक्त सैन्य अभ्यास सगरमाथा फ्रेन्डिसिपका विषयमा पनि छलफल गर्ने बताइएको छ।

यसअघि सन् २०१७ मा पहिलो पटक १० दिन लामो सैन्य अभ्यास भएको थियो। बीचमा रोकिएको यो सैन्य अभ्यासलाई निरन्तरता दिनका लागि छलफल हुने बताइएको छ। त्यसपछि उनले प्रधानमन्त्री केपी ओलीसँग  ३ बजे भेट गर्नेछन्।

प्रधानमन्त्रीसँग बालुवाटारमा भेटवार्ता गरेपछि उनी शीतल निवास ४ बजे पुग्ने तालिका रहेको छ। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि उनी त्यहीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएर स्वदेश फर्किने भ्रमण कार्यतालिका रहेको छ।

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए। “भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो ”, कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने।

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए। चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन्। प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ