नेकपाबाट कांग्रेस प्रवेश गर्नेको लर्को, वडाध्यक्षसहित तीन सय ८० कार्यकर्ता कांग्रेसमा
सन्तोष राउत,
प्रकाशित २०७७ मंसिर १५ सोमबार
439
Shares
सोलुखुम्बु । सगरमाथाको फेदी सोलखुुम्बुको लुक्लाबाट शुरु भएको नेपाली काँग्रेस प्रवेशको लहर तीन दिनसम्म लगातार चलिरहेको छ । यसै क्रममा खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ मा सत्तारुढ दल नेकपाका वडा अध्यक्ष तथा सदस्यका उम्मेद्वार र ३५ जना सगरमाथा आरोही सहित ३८० जिम्मेवार नेता कार्याकर्ता नेकपा परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
खुम्बु पासाङल्हामू गाउँपालिका–४ खुम्जुङमा आयोजित अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा १११ जना काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुमा नेकपाका वडा कमिटी सचिव पासाङदावा शेर्पा, तत्कालीन नेकपा माओवादीका वडा अध्यक्षका उमेद्वार कान्छानुरु शेर्पा, वडा सदस्यका उमेद्वारहरु फूर्वा टसी शेर्पा, आङसोनाम शेर्पा, महिला सदस्यका उमेद्वार ङवाङडोमा शेर्पा र तत्कालीन एमालेका संस्थापक नेता तथा पूर्व वडा कमिटी अध्यक्ष तेन्जिङटसी शेर्पालगायत नेता तथा कार्यकर्ताहरु रहेको नेपाली काँग्रेस खुम्बु पासाङल्हामू गाउँपालिकाका प्रवक्ता पासाङ शेर्पाले जानकारी दिए ।
त्यस्तै, वडा नं. ५ नाम्चेमा भएको कार्यक्रममा पनि ११७ जना नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको उनले जानकारी दिए । थोरै जनसंख्या भएको त्यस क्षेत्रमा यतिका संख्यामा नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नु धेरै खुशीको कुरा भएको काँग्रेस नेताहरुको भनाइ छ ।
पहिलो दिन वडा नं. २ लुक्लामा तत्कालीन नेकपा माओवादीका प्रत्यासी उम्मेद्वार ल्हाक्पाग्याल्जेन शेर्पा सहित ङिमादोर्जी शेर्पा, आङनुरु शेर्पा लगायत १५२ जना काङ्ग्रेस नेकपा तथा अन्य पार्टीका प्रभावशाली नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका आदिवासी जनजाति विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पा, खुम्बु पासाङल्हामु गाउँ कार्यसमितिका सभापति पेम्बाछिरिङ शेर्पा, गाउँपालिका अध्यक्षका उमेद्वार चुङ्बा शेर्पा, नेताहरु प्रेम थापामगर लाक्पानुरी शेर्पा, टानका केन्द्रिय सदस्य सनम शेर्पा, तरुण दल सभापति छिरिङसोना शेर्पा, युवा सजकता अभियानका अध्यक्ष फुनुरु शेर्पालगायतका स्थानीय नेताहरुले स्वागत गरेका थिए ।
कांग्रेस प्रवेश गर्दै उनीहरुले नेकपाका केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले एकलौटी गरेको, भ्रष्टाचार तथा बेरुजु बढाएको, विकासको प्रत्यक्ष अनुभूति नभएको आरोप लगाउँदै मुलुकमा एक मात्र आशा र भरोसा भएको लोकतान्त्रिक पार्टी काँग्रेस भएकाले नेकपा परित्याग गरेको बताएका छन् ।
नवप्रवेशीलाई स्वागत गर्दै काँग्रेस नेताहरुले जुन आशा र भरोसाका साथ कांग्रेसमा प्रवेश भएको छ त्यसलाई टुट्न नदिने प्रतिबद्धता जनाएका छन् । आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी हुने दावी गर्दै लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म पनि विकासमा अग्रणी भूमिका निर्वाह गरेकाले देश समृद्ध बनाउन कांग्रेस नै चाहिने उनीहरुको तर्क छ ।
कांग्रेस गाउँपालिका प्रवक्ता पासाङ शेर्पाकाअनुसार वडा नं. २ मा ङिमादोर्जी शेर्पाको संयोजकत्वमा १३ सदस्सीय, वडा नं. ३ मा आङछिरिङ शेर्पाको संयोजकत्वमा १३ सदस्यीय, वडा नं. ४ मा छिरिङथुुण्डु शेर्पाको संयोजकत्वमा २९ सदस्सीय र वडा नं. ५ मा लाक्पाग्याल्जेन शेर्पाको संयोजकत्वमा ३९ सदस्सीय तरुणदल गठन गरिएको छ । खुम्बुको लुक्लाबाट सुरु भएको पहिलो चरणको कार्यक्रम नाम्चेबाट समापन भएको छ ।
यसै अवसरमा कांग्रेस नेताहरुले डेढ लाख मास्क वितरण गरेका छन् । स्थानीय संघ संस्था, आमा समूह, विद्यालय लगायतका क्षेत्रमा मास्क वितरण गरिएको बताइएको छ ।