arrow

मित्रवत जानेकी शत्रुवत जाने छान्न प्रचण्डलाई ओलीको सुझाव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर १५ सोमबार
oli-prachanda-final.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदनपछि कार्यकारी अध्यक्ष प्रचण्ड पक्ष भने चिढिएको छ। उनीहरुले आत्माआलोचना खोजेको तर ओलीको प्रतिवेदनमा त्यस्तो भाषा नआएपछि उनीहरु चिढिएका हुन् । पूर्व माओवादी समूहका जनार्दन शर्मा, पम्फा भूषाल, देव गुरुङ लगायतका केही नेताहरुले केपी ओलीसँग अब सँगै जान कठिन हुने सुझाव दिएका छन् । गुरुङ र भूषालले ओलीको धुँवाधार विरोध गरेपनि शर्मा भने सुधार गर्न सकिन्छ कि भन्ने बाटोमा देखिएका थिए।

ओलीको प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरुसहित आफूनिकट स्थायी समिति सदस्यहरुसँग सामुहिक र एकल रुपमा छलफल गरिसकेका छन् । आइतबार खुमलटारमा तीन नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरुसँग प्रचण्डले छलफल गरेका थिए । उनीहरुले पार्टी विभाजन गर्न ओली नै लागेको निष्कर्ष निकालेको स्रोतको दावी छ । 

‘प्रचण्डले आइतबार विहानदेखि साँझसम्म वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । उहाँहरु सबैको धारणा एउटै छ ओली सच्चिन सक्दैनन’, खुमलटार निकट स्रोतले भन्यो । प्रचण्डले जनार्दन शर्मा, वर्षमान पुन, मात्रिका यादव पम्फा भूषाल, देव गुरुङलाई पनि बेग्ला बेग्लै बोलाएर छलफल गरेका थिए । गुरुङ, भूषाल, यादव कडा र शर्मा र पुन नरम देखिएका थिए । 

कात्तिक २८ गते प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको जवाफ दिँदै ओलीले शनिबार बसेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेपछि दुवै पक्ष आफ्नै अडानमा देखिएका थिए । प्रतिवेदनमा व्यक्त गरिएका कतिपय विषय र सन्दर्भहरुको बारेमा बैठकमा कुरा उठाउने नेताहरुले तयारी गरेका छन् । प्रचण्ड पक्ष दुवै प्रतिवेदनलाई सचिवालय बैठकबाट स्थायी कमिटी बैठक हुँदै केन्द्रीय कमिटीमा लगेर टुग्याउने पक्षमा रहेका छन् भने ओली पक्ष दुवै प्रतिवेदनलाई सचिवालयमै टुंगो लगाएर केन्द्रीय कमिटी बैठकमा जाने पक्षमा रहेको छ ।

‘ओलीजी रुपान्तरण हुन तयार भए पार्टी एकता महाधिवेशनसम्म जान्छ र एउटा नयाँ माहोल बन्न सक्छ, तर रुपान्तरण नहुने र विधि, पद्धति पनि नमान्ने हो भने कमिटीमा छलफल मात्रै हुँदैन केन्द्रीय कमिटी बैठकबाटै छिनोफानो हुन्छ’, प्रचण्ड एक नेताले भने । तर स्थायी कमिटी सदस्यहरुले सचिवालय बैठकमा टुंगेन भने स्थायी कमिटी बैठकले दुवै अध्यक्षलाई संयुक्त प्रतिवेदन लेखेर पेश गर्न निर्देशन दिने संभावना रहेको स्रोतको दावी छ । प्रचण्ड पक्षलाई ओली पक्षले बारम्बार मित्रवत जाने कि शत्रुवत जाने भनेर प्रश्न सोधिरहेको अवस्थामा प्रचण्डले कुनै जवाफ दिएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ