arrow

कांग्रेसको सडकमा शक्ति प्रदर्शनः सोमबार ७७ जिल्लामा एकैसाथ प्रदर्शन 

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
congress-mangsir-29.jpg

काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशैभर केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दैछ । ओलीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा सपथ ग्रहण गरी बालुवाटार र सिंहदरबार छिरेपछि पहिलो पटक प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारविरुद्ध शक्ति प्रदर्शन गर्न लागेको हो । 

ओली सरकार सुरुआतदेखि नै मनोमानी ढंगले अगाडि बढेको, जनअपेक्षाअनुसार काम नभएको र भ्रष्टाचारमा लिप्त भएको भए पनि कांग्रेस मौन रहेको थियो । प्रतिपक्षका भूमिका खेल्न नसकेको आरोप लागे पनि कांग्रेस नेताहरुले कांग्रेसले कम्युनिष्टले जस्तो सडकका रेलिङ नभाँच्ने प्रतिक्रिया दिँदै आएका थिए । 

तर यसपालि भने ओली सरकारले भएका सीमा सबै पार गरेपछि सडकमै उत्रनु परेको नेताहरुले बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारको देशव्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील गरेका छन् । 

उनले प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो भन्दै अब चुप लागेर नबस्ने भन्दै सडकदेखि सदनसम्मै प्रतिपक्षको भूमिका निभाउने उल्लेख गरेका छन् । 

सोमबारको प्रदर्शन गर्नुको कारण खुलाउँदै देउवाले ‘यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो सांकेतिक प्रदर्शन’ भनेका छन् । 

उनले पटक पटक शान्तिपूर्ण प्रदर्शनका लागि अपील गरेका छन् । कोरोना भाइरसको महामारीका बीच हुन लागेको यो प्रदर्शन शोभनीय नभए पनि एकतासाथ भौतिक दूरी राख्दै सहभागी हुन देउवाले आग्रह गरेका छन् । 

देउवाले जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? भन्दै शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? भनी प्रश्न समेत गरेका छन् । 

देउवाले अबको लडाइँ प्रवृत्ति अन्त्यकै लागि हुने पनि बताएका छन् । 

पछिल्लो पटक तनहुँमा आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सत्ताको आडमा जिल्ला प्रशासनले अभद्र व्यवहार गरी डण्डा चलाउँदै तीन घण्टा नियन्त्रणमा राखेपछि कांग्रेस तात्तिएको हो । 

देउवाले मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल कांग्रेस नै भएको भन्दै आज प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा गम्भीर रहेको उल्लेख गरेका छन् । 

सोमबारको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने विश्वास उनले दिलाएका छन् । 

कांग्रेसले एकैसाथ सडक प्रदर्शन गर्ने भने पनि ठ्याक्कै समय भने नतोकिएको कांग्रेस पार्टी कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले भने, ‘ठ्याकै त भनेका छैनौं तर दिउँसो साढे १२ देखि १ बजेको समयमा कार्यक्रम गर्ने सहमति भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ