arrow

फ्रान्सका राष्ट्रपतिलाई संक्रमण, यूरोपका अन्य नेताहरु पनि सेल्फ आइसोलेसनमा

logo
एएफपी,
प्रकाशित २०७७ पुष २ बिहिबार
macron-french.jpg

पेरिस । फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोनाभाइरसबाट संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनीसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि संक्रमित भएको आशङ्कापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहन र परीक्षण गर्न सुझाब दिइएको छ । 

त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएका विश्व नेताहरुको सूचीमा पनि उनको नाम थपिएको छ । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई पनि कोरोनाभाइरसले संक्रमित बनाएको थियो । 

राष्ट्रपति म्याक्रोँलाई लक्षणका आधारमा शङ्का लागेपछि परीक्षण गरिएकोमा संक्रमण देखिएको हो । उनी अव कम्तीमा सात दिन “सेल्फ आइसोलेसन”मा बस्ने बताइएको छ । 
  
फ्रान्समा कोरोना संक्रमण भएको पुष्टि भएपछि कम्तीमा सात दिन सेल्फ आइसोलेसनमा बस्नु पर्ने नियम रहेको छ ।  उनले संक्रमण पुष्टि भएर सेल्फ आइसोलेसनमा बसेपनि आफ्नो कामलाई निरन्तरता दिने राष्ट्रपति कार्यालयले जनाएको छ । 

म्याक्रोँ गत हप्ता पेरिसमै आयोजना गरिएको युरोपेली सम्मेलनमा पनि सहभागी भएका थिए । आर्थिक सहकार्य तथा विकासका लागि संगठन (ओइसीडी)द्वारा आयोजित सो सम्मेलनमा सहभागी अन्य नेताहरु पनि संक्रमित भएको आशङ्का गरिएको छ ।
 
सम्मेलनको अध्यक्षता गरेका युरोपेली परिषद्का अध्यक्ष चार्स मिसेल पनि संक्रमितसँग कार्यक्रममा रहेकोले उनले पनि अन्य व्यक्तिबाट अलग बसेको उनका प्रवक्ताले जानकारी दिएका छन् । त्यसैगरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र एन्टेनियो कोस्टा पनि क्वारेन्टीनमा बसेको उनको कार्यालयका अधिकारीहरुले जनाएका छन् । 

म्याक्रोँसँग सम्पर्कमा भएकै कारणले फ्रान्सकै प्रधानमन्त्री जाँ कास्टेक्स र सभामुख रिचार्ड फरान्ड पनि सेल्फ आइसोलेसनमा छन् । उनीहरूलाई संक्रमणको कुनै लक्षण भने देखिएको छैन ।

म्याक्रोँकी श्रीमतीलाई समेत कुनै लक्षण नदेखिएपनि सेल्फ आइसोलेसनमा राखिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनहरूलाई संक्रमण भएको थाहा पाएपछि विभिन्न देशका नेताहरुले उनहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

फ्रान्समा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म ५९ हजार ३०० भन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ