arrow

उमेरअनुसार कोभिड-१९ विरुद्धको खोप सेवा उपलब्ध गराइने : पुटिन

logo
एएफपी,
प्रकाशित २०७७ पुष २ बिहिबार
putin.jpg1.jpeg

मस्को ।  रूसमा विकसित स्पुतनिक-भी नामक कोभिड-१९ विरुद्धको खोपलाई नागरिकको उमेर अनुसार सुरक्षित र प्रभावकारी बन्ने भएपछि यसको प्रयोगलाई अनुमति दिइने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् । 

आफ्नो उमेर समूहका मानिसका लागि खोप सुरक्षित प्रमाणित हुँदासाथ आफूले पनि यसको प्रयोग गर्ने उनले बताए ।

रूसी राष्ट्रपतिले आफ्नो वार्षिक कार्यक्रमको समापनको सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा भने, “मलाई अझै खोप दिइएको छैन तर विज्ञको सल्लाहका आधारमा सम्भव हुने बित्तिकै यथाशीघ्र यो सेवा लिनेछु ।” 

रूस ‘कोभिड खोप आविष्कार गर्ने र उत्पादन गर्न शुरु गर्ने विश्वको पहिलो मुलुक’ बनेको दावी गर्दै पुटिनले भने, “रूसले उत्पादन गरेको स्पुत्निक खोप करिब ९७ प्रतिशत प्रभाबकारी रहेको रूसी विज्ञहरूले पुष्टि गरेका छन् ।” 

गत अगस्टमा दर्ता गरिएको सोभयतकालीन चर्चित सेटेलाइट स्पुतनिक-भीका नाम राखिएको यस खोप विकासको पुटिनले प्रशंसा गरेका थिए। खोपको ठूला क्लिनिकल परीक्षण हुनुपूर्व नै रूसले खोप विकासमा सफलता पाएको भनी उनले नै घोषणा गरेका थिए ।

भ्याक्सिनका विकासकर्ताहरूका हालै प्राप्त क्लिनिकल परीक्षणको नतीजाले यो खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको देखाएको उल्लेख रूसले गरेको छ । 

यस महिनाको शुरूमा रूसले ठूलो मात्रामा सार्वजनिक खोप अभियान सुरु गरेको थियो जसले शुरूमा उच्च जोखिममा रहेका व्यक्तिहरूलाई कोभिड-१९ खोप उपलब्ध गराउँदै आएको छ । 

पुटिनले बिहीबार भने, “रूसले सन् २०२१ को सुरुमा ‘खोपको लाखौं मात्रा’ उपलब्ध गराइसक्नेछ ।”

उनले रूसको महामारीको व्यवस्थापनको पनि प्रशंसा गर्दै भने, “देशले ठूलो चुनौतीको सामना गर्‍यो र विश्वका अन्य देशहरूभन्दा पनि राम्रो सफलताका साथ महामारी नियन्त्रण भएको छ ।” यद्यपि अझै महामारीसँग सम्बन्धित ‘धेरै समस्याहरु’ रहेका उनले बताए ।

रूसमा महामारी सुरु भएदेखि करिब ३० लाख व्यक्तिमा संक्रमण पुष्टि भएको र संक्रमणका हिसाबले बढी प्रभावित मुलुक हो । संक्रमणको आधारमा अमेरिका, भारत, ब्राजिलपछि रूस चौथो बढी प्रभावित मुलुक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ