arrow

नेकपा सरकार संविधान भत्काउने र मुलुकलाई अस्थिरतातर्फ लैजान लाग्योः कांग्रेस

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ५ आइतबार
nc-party-building.jpg

काठमाडौं। नेपाल सरकार मन्त्री परिषद्ले हठात् प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी गरेको निर्णय, प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिस र राष्ट्रपतिबाट उक्त सिफारिस स्वीकृत भएको घटनामा ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाउँदै कांग्रेसले यो घटना नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य भएको नेपाली कांग्रेसले जनाएको छ । 

सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको कांग्रेसले भनेको छ । विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको पनि कांग्रेसको ठहर छ । 

कोभिड—१९ को माहामारीले जनता सर्वाधिक पिडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जनजिवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुँदै, आफ्नो पद र शक्तिका लागि सत्ता संघर्षमा केन्द्रीत रहेको जनाउँदै कांग्रेसले पछिल्ला घटनाक्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता संचालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट भएको बताएको छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता भएको कांग्रेसले भनेको छ ।

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्या‍उन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गर्दै सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्ने बताएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ