बंगलादेश नरसंहारमा माफी माग्नुपर्ने भन्दै वाशिङ्टनस्थित पाकिस्तानी मिसन अगाडि बृहत प्रदर्शन
एएनआई,
प्रकाशित २०७७ पुष १२ आइतबार
939
Shares
वाशिङ्टन। अमेरिकास्थित बंगलादेशी संस्थाले सन् १९७१ को बंगलादेश नरसंहारका विषयमा पाकिस्तानले माफी माग्नुपर्ने माग गर्दै पाकिस्तानी मिसन अगाडि बृहत प्रदर्शन गरेका छन्। बंगलादेशी संस्थासहित दक्षिण एसियाली अल्पसंख्यकहरुले वाशिङ्टस्थित पाकिस्तान दूतावास अगाडि पाकिस्तानले माफी माग्नुपर्ने माग राख्दै व्यापक प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले बंगलादेशी झण्डा, प्लाकार्ड र पाकिस्तान विरोधी नाराबाजी गरेका थिए। पाकिस्तानी दूतावास अगाडि गरिएको प्रदर्शनमा संयोजन गरेका प्रनेश हाल्दारले पाकिस्तानले माफी माग्नुका साथै १९५ पाकिस्तानी युद्ध अपराधीहरुको सुपुर्दगी गर्नुपर्ने माग गरेका छन्।
उनले भने, " सन् १९७१ मा हजारौं महिलाहरुको बलात्कार र हत्याजस्तो जघन्य अपराध गर्ने व्यक्तिहरुलाई कारबाही गर्नुपर्छ भन्ने माग हो।"
२५ मे १९७१ को मध्यराति 'अप्रेसन सर्चलाइट' को नाममा बंगालीमाथि पाकिस्तानी सेनाले नरसंहार गरेका थिए। एकैरातमा एक लाखभन्दा बढी बंगालीहरुलाई विस्थापित गरिएको थियो। त्यसैगरै धेरै विश्वविद्यालय र प्रोफेसरहरुको पनि पाकिस्तान सेनाहरुले हत्या गरेका थिए।