arrow

राष्ट्रपति भण्डारी र उद्योग वाणिज्य महासंघको नवनिर्वाचित टोलीबीच भेटवार्ता

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
fncci-president-meet.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शितलनिवासमा औपचारिक भेटवार्ता भएको छ। सो अवसरमा राष्ट्रपतिले महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई सहित कार्यकालको सफलताको लागि शुभकामना दिएकी छिन्। 

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहितको पदाधिकारी प्रतिनिधिमण्डलले राष्ट्रपति समक्ष महासंघको नयाँ नेतृत्वले निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासंघ विशेष लक्ष्य सहितको भिजन पेपर तयारीमा लागेको जानकारी गराएको छ।

सो अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यम (एसएमई) लाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सवैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा पनि जोड दिएको महासंघले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वत चल्न सक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको गोल्छाले बताएका छन्। साथै उनले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

लाखौं युवा वेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले महासंघले विज्ञहरू समेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसंग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपति समक्ष जानकारी गराएका छन्। 

अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने प्रक्षेपण भैरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन्।

भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, उर्जा लगायतका क्षेत्रसंग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलव्ध प्राकृतिक स्रोत साधनको समुचित विकास मार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोच अनुरुप विकासका कार्यक्रम अगाडी बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्व लगायतका विषयमा जोड दिएका छन्।

महासंघका पदाधिकारीहरूबाट व्यक्त धारणा पश्चात राष्ट्रपति भण्डारीले महासंघको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन्।

उनले भनिन्, ‘हामीसंग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौं, प्राकृतिक स्रोत साधनमा हामी धनी छौं, बजारका लागि कुनै समस्या छैन तैपनि पर्याप्त लगानी आउन सकेको छैन, अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ। रोजगारीका लागि वाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा तपाईहरू गम्भीर भएर लाग्नुहोस्।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरेकी छिन्। उनले भनिन्, ‘हर कुरामा हामी बाह्य देशसंग निर्भर रहनु पर्ने अवस्था छ र यो अवस्थालाई कसरी ब्रेक गरी आफना लागि आवश्यक वस्तु आफै उत्पादन गर्न सक्छौं त्यसमा सिंगो मुलुकनै गम्भीर हुन जरूरी छ।’

राष्ट्रपति भण्डारीले स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमामात्र वाह्य लगानी समेत आकर्षित हुने हुँदा कृषि, उर्जा, पर्यटन क्षेत्रको विकास मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा जोड दिएकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ