arrow

सन् २०२० लाई फर्केर हेर्दा

logo
जीवन भण्डारी,
प्रकाशित २०७७ पुष १६ बिहिबार
year-2020.jpg

 काठमाडौं । अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई कोरोनाको प्रत्यक्ष मारमा पार्‍यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन् । यस बर्षका मुख्य घटनाहरु यहाँ छोटकरीमा चर्चा गरिएको छ ।

कोरोना महामारी
यस बर्षको सवैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । यो यस बर्षको मात्रै नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ ।  कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाव किताव गरेर नै सम्भव छैन । तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ । कोरोनाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोपपनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्युनिकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई विदाई गरिँदैछ ।


इयूबाट बोलायतको बहिर्गमन
लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ । जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो । पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो । यूरोपेली संघबाट बाहिरिएपछि अहिले ब्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।

ट्रम्पमय राजनीति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहेपनि यस बर्ष कार्यकाल नवीकरण गर्ने बर्ष भएकाले पनि बढी चर्चा भयो । गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उनले निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उनको दृष्टिकोणलगायतका कारणले उन चर्चाको केन्द्रमा नै रहे । दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा उनलाई यस बर्षले टुंगो लगायो । उनलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भए । निर्वाचनपछि पनि उनले नतिजा अस्वीकार गरेर थप चर्चा बटुले । बर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो  सदनमा  पारित ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज गर्‍यो ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता
अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो। सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरेका थिए । त्यो घोषणा उनको कार्यकालको अन्त्यतिर मात्रै लागुभयो । तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ बर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ । तर शान्ति प्रक्रिया भने अझै पनि तार्किक निश्कर्षमा पुगेको छैन ।
 
सलह आतंक
यस बर्षका विश्वव्यापी चर्चित घटना मध्ये सलह आतंक पनि एक हो । विषेशगरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरिएको थियो । सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक बर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्‍याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ ।

ठूला दुःखद घटना  
यस बर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो । जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । खासगरी इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका  थिए । लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो । अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे हम्मे पर्‍यो । आगलागीको असर अन्य देशहरुमा पनि पर्‍यो । विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि  रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ