arrow

हुम्लामा हिमपातः हिमपातका कारण बिमानस्थलमै थन्किए जहाज

तापक्रम माइनसमा झर्‍यो

logo
जनकबहादुर शाही
प्रकाशित २०७७ पुष २० सोमबार
humla-snow-fall.jpg

हुम्ला। हुम्लामा हिमपात भएको छ । आईतबार दिउँसोबाट हुम्लामा हिमपात शुरु भएपछि तापक्रम माईनसमा झरेसँगै जाडो अत्याधिक बढेको छ । हिमपात हुँदा हुम्ला लगायतका हिमाली जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि जहाज पनि बिमानस्थलमै थन्किएका छन् ।

आईतवार हुम्लामा हिमपात भएपछि दुईवटा तारा एयरका जहाज सिमकोट विमानस्थलमै थन्किएका छन् । जहाजमा रहेको ब्याट्रीमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । मर्मत गरि फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु प्रसाद अधिकारीले बताए ।

हिमपातले हुम्लाको उतरी नाम्खा गाउँपालिकाका प्राय बस्तिहरुमा ४ फिट भन्दाबढी हिउँ जमेको छ भने अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ । आइतवार दिउँसोदेखि परेको हिमपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको विमानस्थल स्रोतले बताएको छ ।

लामो समयदेखि बर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् अहिले जेष्ठमा पाक्ने जौ, गहुँ र उवा छर्ने समय भएकाले हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । लामो समय पानी नपरेकाले जमीन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासीहरुको भनाई छ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भईरहेकाले यहाँका स्थानियलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ