arrow

काठमाडौं विषाक्तको दोस्रो नम्बरमा

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
air-pollution-nepal.JPG

काठमाडौं । गत सोमबार विश्वकै विषाक्त शहर गनिएको काठमाडौंको हावाको गुणस्तर बुधबार दोस्रो नम्बरमा पुगेको छ । मंगलबार सुधारिएको भनिएको भए पनि बुधबार बिहान भने फेरि काठमाडौं दोस्रो नम्बरमा पुगेको आईक्यूएयर डटकमले उल्लेख गरेको छ । संसारका मुख्य शहरहरुको रियल टाइम हावाको प्रदूषणबारे आईक्यूएयरले जानकारी दिँदै आएको छ । 

बुधबार काठमाडौंको वायु गुणवत्ता मानक (एक्यूआइ) १९८ रहेको छ । सोमबार भने ४८७ रहेको थियो । आइक्यूएयरका अनुसार भारतको कोलकाता बुधबार बिहान सबैभन्दा प्रदूषित शहर हुन गएको छ । 

एक्कासी काठमाडौं खतराको सूचीमा देखिएपछि सरकारले बिना काम बाहिर ननिस्कन र अनिवार्य रुपले मास्क लगाएर हिँड्न आग्रह गरेको छ । 

एक्यूआई कति हुनुपर्छ ? 
एक्यूआई ५० सम्म हुनुलाई उत्तम मानिन्छ । तर त्यो ५० देखिमाथि १ सय पुग्नुलाई सामान्य मान्ने गरिन्छ । 

तर सोमबार ४८७ र मंगलबार ३०० सम्म हुनु अनि बुधबार १९८ हुनु निकै नै चुनौतीपूर्ण हो । 

एक्युआई २ सय नाघेको अवस्थामा जनस्वास्थ्य अनुकूल मानिँदैन । खुला क्षेत्रमा फोहोरमैला बाल्ने, उद्योग कलकारखाना र सवारी साधनले फाल्ने धुँवा र प्रदूषण न्यूनीकरण गर्न तत्काल कदम नचालिनुले पनि यसको स्थिति बिकराल बनाएको छ । 

केही दिनका लागि कलकारखाना बन्द गरी सवारी गुडाउनसमेत कमी गर्दा यसलाई केही हदसम्म सन्तुलनमा ल्याउन सकिने बताइन्छ । 

काठमाडौं उपत्यकामा आठ गुणा प्रदूषण बढेको बताइन्छ । कोरोना भाइरसको लकडाउनले गर्दा काठमाडौं सफा हुँदै आएको भए पनि पछिल्लो समय प्रदूषण ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावका कारण पनि प्रदूषण आएको हुन सक्ने बताइन्छ । 

मौसमको हालत
आइतबारदेखि बिग्रिएको मौसममा बुधबार भने सुधार आएको छ । दुई दिन घामै नलागेको मुलुकमा बुधबार भने घाम लागेको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै  देशका  उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।  पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात अनि  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउन मौसम पूर्वानुमन महाशाखाले आग्रह गरेको छ । 

न्यूनतम तापक्रम
काठमाडौं उपत्यकामा मंगलबार न्यूनतम तापक्रम ९ डिग्री रहेकामा बुधबार घटेर ६.१ डिग्रीमा पुगेको छ । सबैभन्दा कम जुम्लामा ०.५ रहेको छ । त्यस्तै दिपायलमा ९.९, डडेलधुरामा ७.१ रहेको छ । 



नयाँ