arrow

निर्वाचन पनि नगर्ने, संसद पुर्नवहाली पनि गर्न नदिने डिजाइनमा केपी ओलीः सिटौला

‘संविधान बनाउने कांग्रेससँग जोगाउने हिम्मत पनि छ’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
krishna-prasad-sitoula.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली संसद पुर्नस्थापना पनि हुन नदिने र निर्वाचन पनि नगर्ने खेलमा लागेको बताएका छन् । हाम्राकुरासँग कुरा गर्दै सिटौलाले प्रधानमन्त्री ओली संसद पुर्नस्थापना पनि हुन नदिने र निर्वाचन पनि नगर्ने नियतबाट अघि बढिरहेको बताएका हुन । ‘संसद पुर्नवहाली पनि गर्न नदिने र निर्वाचन पनि नगर्ने डिजाइनको खेलमा देश फसेको छ, त्यसलाई क्रस गर्न, संविधानलाई बचाउन र देशलाई जोगाउन आन्दोलनको विकल्प छैन ।’ सिटौलाले भने । 

प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको सुविधा लिएर संसद विघटन गरेको भन्दै सिटौलाले संविधानमा प्रधानमन्त्रीलाई त्यो सुविधा नभएको र उनी अहिले निर्वाचनको हल्ला गरेर संसद पुर्नस्थापना पनि हुन नदिने र निर्वाचन पनि रोक्ने नियतबाट अघि बढिरहेको दाबी गरे । सिटौलाले पहिलेका राजनीतिक अस्थिरता र राजनीतिक दुर्घटनालाई हेरेर संसद विघटनको व्यवस्था संविधान बनाउँदा नै हटाइएको बताए । ‘मुलुकमा धेरै राजनीतिक अस्थिरता भयो भनेर हामीले पहिलेको संविधानबाटै संसद विघटनको व्यवस्था हटाएका हौं, देशलाई राजनीतिक स्थिरता र राजनीतिक दुर्घटनाबाट बचाउन भनेर हटाइएको व्यवस्था अहिले कहाँबाट आयो ?,’ सिटौलाले भने ‘संसदले नै स्थिर सरकार दिन्छ भनेर दुई वर्षसम्म सरकारका बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था अहिलेको संविधानमा थप गरिएको हो ।’ 

प्रधानमन्त्रीले सरकार चलाउँन नसक्दा राजीनामा दिने र संसदले अर्को सरकार बनाउन नसकेको अवस्थामा मात्रै थप निणर्य गर्न सक्ने व्यवस्था संविधानमा रहेको सिटौलाको भनाइ छ । तर सो व्यवस्थालाई अटेर गरेर असंवैधानिक, अलोकतान्त्रिक र  प्रतिगामी काम प्रधानमन्त्रीबाट भएको उनले बताए । 

सिटौलाले आन्दोलनबाट मात्रै अब मुलुकलाई नयाँ गति दिने भन्दै प्रतिगामी कदमका बिरुद्ध सिंगो कांग्रेस दुरगामी दृष्टीकोणसहित एकताबद्ध भएर आन्दोलनमा होमिएको बताए । कांग्रेसले आन्दोलनबाटै संविधान, लोकतन्त्र, गणतन्त्र र जनताको अधिकारको रक्षा गर्ने समेत उनले प्रष्ट पारे । ‘यो परिदृश्यलाई कांग्रेसले टुलुटुलु हेरेर बस्दैन, कांग्रेसले देशलाई संविधान दियो, कांग्रेसले नै संविधानलाई जोगाएर अघि बढ्नु पर्ने अवस्था आएको छ, असंवैधानिक, अलोकतान्त्रिक कदमका बिरुद्ध अब कांग्रेस एकताबद्ध ढंगबाट आन्दोलनमा होमियो,’ सिटौलाले भने ।  

‘अरु आएनन म किन आन्दोलनमा जाने भन्ने होइन, मैले मौका पाएँ भनेर अघि बढ्ने हो, आउँने जतिलाई अघि बढेर तान्ने हो पछि बसेर ठेल्न सकिंदैन, संविधान बनाउने कांग्रेससँग जोगाउने हिम्मत पनि छ ।’  सिटौलाले संवादका क्रममा भने । उनले प्रधानमन्त्री र सरकारका मन्त्री अदालतले संसद पुर्नस्थापनामा के गर्न सक्छ ?, भन्ने जस्ता अभिव्यक्ति दिएर अदालतलाई प्रभावमा पार्न र अदालतलाई आफ्नो अनुकुल बनाउने गरी दबाब दिइरहेको भन्दै खबरदारी गरिनु पर्ने औल्याए । 

‘अदालतको निणर्यमा पनि अब शंका उब्जन थालेको छ, राज्यले अदालतलाई आफ्नो काबुमा ल्याउन सार्वजनिक प्रयास गरिरहेको छ, न्यायालयले के गर्छ भन्ने जनताले हेरिरहेका छन, न्यायालयले संविधान भित्रबाट निणर्य लिनुपर्छ, प्रधानमन्त्री र मन्त्रीको अभिव्यक्ति सुनेर होइन, जनता र देशका लागि निणर्य लिन सक्नुपर्छ, भावनाको प्रयोग गर्ने यहाँ कुरा छैन ।’ 

सरकारको कदमबाट संविधान र संविधानका विशेषतालाई सम्प्रेषण गर्ने अवसर समेत कांग्रेसको काँधमा आएको भन्दै सिटौलाले प्रधानमन्त्री ओलीले व्यवस्थामाथी नै आक्रमण गर्दा जनताका बिचमा गएर गणतन्त्रको औचित्य साबित गर्ने अवसर समेत प्राप्त भएको भनेका छन्। ‘अरु सबै परिवर्तन गणतन्त्रसँग जोडिएर आएका हुन, मौलिक परिवर्तन त गणतन्त्र नै हो, २००७ सालको आन्दोलनले प्रजातन्त्र ल्यायो, ०६२/०६३ को आन्दोलनले गणतन्त्र ल्यायो, दुबै आन्दोलनले जनताको अधिकारलाई थपेर ल्याएको छ,’ सिटौलाले भने ‘त्यसैले जनताका बिचमा गएर व्यवस्था सकिन लाग्यो भनेर गणतन्त्रको औचित्य पुष्टी गर्ने बेला दलहरुका बीचमा आएको छ ।’ सिटौलाले भने । 

‘बाम गठबन्धनलाई दिएको भोट पछि जनताले के पाए ?, तीन वर्षको मूल्यांकन के भयो ?, मजदुरलाई के दियो, किसानलाई के दियो, कर्मचारी, प्रेस, मानवअधिकाका क्षेत्रमा सरकारले के दियो, नेपालको न्यायपालिकालाई के दियो, अन्य संवैधानिक निकायलाई सरकारले कसरी सुदृढ गर्यो ?, कोभिड व्यवस्थापनमा के के काम भयो ?’ भनेर जनतालाई सोध्ने र बुझाउने अभियान अब आन्दोलनसँगै अघि बढ्ने सिटौलाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ