arrow

पदबाट हटाउने माग तीव्र भएपछि अगाडि आए ट्रम्प

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
trump-mask.jpg

काठमाडौं । अमेरिकी इतिहासमा कालो दिनको रुपमा गनिएको बुधबारको घटनाले गर्दा आलोचित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि आएका छन् । अमेरिकाको राजधानी वासिङटन डिसीको क्यापिटल हिलमा हिंसात्मक घटना गराएको २४ घण्टापवछि उनले एक भिडियो ट्वीट गर्दै आफ्ना समर्थकको हिंसाको निन्दा गरेका छन् । 

उनले व्यवस्थित सत्ता हस्तान्तरण गर्न चाहेको पनि बताएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार ट्रम्पले अमेरिकी राष्ट्रपतिको संसदबाट विजेता घोषणा हुने दिनलाई प्रभावित पार्नका लागि आफ्ना समर्थकहरुलाई संसद भवनमा आक्रमण गर्न खटाएका थिए । 

उक्त हिंसात्मक घटनाका क्रममा ४ जनाको ज्यान गएको छ भने केही गम्भीर घाइते रहेका छन् । वासिङटन डिसीमा कफर््यू लगाइएको छ । 

ट्रम्प अमेरिकी राष्ट्रपतिको चुनावमा पराजित भएपछि हिंसात्मक घटना बढेका छन् । उनले रोक्नका लागि कसैलाई आव्हान पनि गरेनन् । 

ट्वीटरमा उनले निरन्तर घटना गराउन उक्साएसँगै उनका समर्थक हौसिएका थिए । त्यस्ता सन्देशका कारण ट्वीटरले १२ घण्टा ट्वीटर ह्याण्डल नै चलाउन प्रतिबन्ध लगाएको थियो । 

जो बाइडेनलाई संसदले विजेता घोषित गरिसक्दा समेत ट्रम्पले हार स्वीकारेका छैनन् । उनका समर्थकहरुले चार दर्जनभन्दा बढी मुद्दा नै हालेका थिए । 

ट्रम्पले आफैले गराएको चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । वैधानिक मत मात्र गन्नुपर्ने तर्क उनले गरेका छन् । 

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले समेत पनि चुनावमा कुनै धाँधली नभएको प्रतिवेदन बुझाइसकेका छन् । 

ट्रम्पले बाँकी अमेरिकीजस्तै क्यापिटल हिलमा भएको हिंसा र अराजकताबाट रिसाएको भन्दै आफूले तुरुन्तै सुरक्षा बनाएर घुसपैठ गर्नेहरुलाई निकाल्न सुरक्षाकर्मी तैनाथ गर्न निर्देशन दिएको बताएका छन् । 

सुरक्षाबललाई तैनाथीका लागि संसदबाटै उपराष्ट्रपति माइक पेन्सले गराएका भए पनि अहिले त्यसको जश आफूले लिन खोजेको भन्दै समाचार एजेन्सीहरुले ट्रम्पको झुठ बाहिर ल्याएका छन् । 

उनले ल्याएको भिडियो सन्देशमा अमेरिकालाई हमेशा एक कानूनी व्यवस्था भएको देश बनाउनु पर्नेमा जोड दिँदै क्यापिटल हिलमा भएको हिंसात्मक घटनाले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको पनि बताएका छन् । 

उनले भनेका छन्, ‘जो हिंसा र तोडफोडमा सामेल भएका थिए उनीहरुले हाम्रो देशको प्रतिनिधित्व गर्न सक्दैनन् ।  र जसले कानून तोडेका छन् उनीहरुले यसको मूल्य चुकाउनु पर्नेछ ।’

अमेरिकामा भएको उक्त घटनालाई सबै जसो मुलुकका शीर्ष नेताहरुले कालो दिनको संज्ञा दिएका छन् । ट्रम्पलाई तत्काल पदबाट हटाउन समेत माग गरिएको छ । 

त्यस्तो घृणित घटना गराएपछि ट्रम्पको पार्टी रिपब्लिकनका नेताहरुले समेत राजीनामा दिन थालेका छन् । ट्रम्पलाई हटाउन समेत उनीहरुले नै माग गर्न थालेका छन् । 

अमेरिकी महान्यायाधीवक्ताले त उपराष्ट्रपति पेन्सलाई अधिकार हत्याएर ट्रम्पलाई अधिकारमुक्त गर्न सल्लाह नै दिएका छन् । 

लोकतन्त्रको पहिचान बोकेको विश्वकै उदाहरणीय मुलुकको हालत सबैभन्दा खराव भएको भन्दै चर्को आलोचना भइरहेको छ । 

आगामी जनवरी २० मा अमेरिकाका लागि ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेन राष्ट्रपति कार्यालय ह्वाइट हाउस छिर्दैछन् । 

तर ट्रम्प भने अझै पनि चुनाव आफूले नहारेको भन्दै ढिट गर्दै आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ