- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ ले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरी संविधान च्यात्ने काम गरेको आरोप लगाएकी छिन् । शनिबार मकवानपुरको प्रतिनिधिसभा २ को ‘क’ अन्तर्गत थाहा नगरको बज्रबाराहीमा भएको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरि संविधान च्यात्ने काम गरेको आरोप लगाएकी हुन् ।
उनले ओली सरकारमा भष्टाचारीहरुको झुण्ड बनाएर बसेको र ओलीले कम्युनिष्ट लुटेर खाने पार्टी भएको प्रमाणित गरेको बताइन् । ‘कम्युनिष्ट पार्टी सर्वसत्यबादी बनेको छ,कम्युनिष्ट भनेको अलोकतान्त्रिक पार्टी हो, काण्डै काण्डको पार्टी हो, अब कम्युनिष्ट पार्टीलाई जनताले लखट्ने समय आएको छ’, डिनाले भनिन् ।
उनले कम्युनिष्टहरुको एक अर्कोको जुँगाको लडाईले देशलाई भंगालोमा हाल्ने काम गरेको पनि बताइन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
सोही अनुरुप कांग्रेस मकवानपुरले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ अन्तर्गत मकवानपुरको छतिवनमा, १ को प्रदेश सभा ‘ख’ अन्तर्गत हेटौंडाको बुद्धचोक, प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ अन्तर्गत थाहानगरको बज्रबाराही र प्रदेश सभा ‘ख’ अन्तर्गत मनहरी बजारमा विरोधसभा गरेको थियो ।