- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चौधौं महाधिवेशन र पार्टी भित्रको संस्थापन इतर समूहले राखेको १६ बुँदे असहमतीका विषयमा नेपाली कांग्रेसमा छलफल सुरु भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी सहित पूर्व पदाधिकारी र शीर्ष तहका नेताहरुको बैठकमा पार्टीको १४ औं महाधिवेशन र आन्तरिक असन्तुष्टीबारे छलफल भएको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका २७ जना केन्द्रीय सदस्यहरुले गत १२ असोजमा राखेका १६ बुँदे असहमतीबारे पनि छलफल भएको हो ।
बैठकमा सहभागी पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशन र लिखित रुपमा पेश गरिएको १६ बुँदे असहमतीका विषयमा छलफल भएको जानकारी दिए । ‘पार्टीको आसन्न महाधिवेशन र हामीले बैठकमै राखेका १६ बुँदे असहमतीका विषयमा छलफल भयो, महाधिवेशन अब तोकिएको समयमा हुन नसक्ने अवस्था बनेको हुँदा कसरी छिटो गर्ने भन्नेमा पनि छलफल भएको छ, फेरी बस्छौं,’ पूर्व महामन्त्री सिंहले बैठकपछि हाम्राकुरासँग भने ।
कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले महाधिवेशनमा जानुभन्दा अघि पार्टी भित्र देखिएका समस्या समाधान गर्नेतर्फ छलफल केन्द्रीत भएको जानकारी दिए । ‘अधिवेशनमा जानु पहिले केही असमझदारीहरु हल गर्ने भन्ने बारेमा छलफल भएको छ, क्रियाशिल सदस्यता, पार्टी समायोजन लगायतका विषयमा सल्लाह भयो,’ सहमहामन्त्री महतले हाम्राकुरासँग भने ।
पौडेल समूहले पार्टीलाई विधानसम्मत संचालन गरिनु पर्ने, १४ औं महाधिवेशन सुनिश्चितता हुनुपर्ने, महाधिवेशन स्वच्छ तथा निष्पक्ष रुपमा गर्ने वातावरण सिर्जना गरिनु पर्ने, क्रियाशिल सदस्यताको वितरण र छानविन निश्पक्ष रुपमा गरिनु पर्ने, पार्टी समायोजन गर्दा विधि सम्मत रुपमा गरिनु पर्ने, विधान विपरित गठन गरिएका विभागहरु खारेज गरिनु पर्ने, म्याद नाघेका भातृ संगठनहरुको अधिवेशन तोकिनु पर्ने, विदेशस्थित जनसम्पर्क समितिमा मनलाग्दी सदस्यता वितरण र समिति गठन गरिएको लगायतका असन्तुष्टी राख्दै आएका छन् ।
असहमती पत्रमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंले हस्ताक्षर गरेका छन् ।