arrow

दुई पटक महाभियोग लाग्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
donald-trump2.jpg

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी राजनीतिक इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो ।

गत हप्ताको बुधबार अमेरिकी संसद् भवनमा आफ्ना समर्थकलाई हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसअनुसार महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको थियो । विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिएका छन्। जबकि महाभियोग पारित हुन २१७ मत आवश्यक रहेको थियो । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन् । ट्रम्पको दल रिपब्लिकनका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन् ।

तल्लो सदनले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो। तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन् ।

अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ । त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ। त्यो सङ्ख्या पुर्‍याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ।

कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनु पर्नेछ। न्यूयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटहरू ट्रम्पलाई दोषी ठहर्याउने पक्षमा रहेको बीबीसीले लेखेको छ । 

गत हप्ता बुधबार नवनिर्वाचित राष्ट्रपतिको विजेता घोषणा संसदबाट सार्वजनिक हुँदै गर्दा ट्रम्पले आफ्ना समर्थकलाई संसद भवनमा आक्रमण गर्न निर्देशन दिएका थिए । 

जसका कारण ५ जनाको ज्यान गएको थियो । आगामी २० जनवरीमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथग्रहण गर्दैछन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ