arrow

ट्रम्पलाई भोट नदिने सांसदले लगाउन थाले सुरक्षाकबच

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
donald-trump.jpg

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउन उनीविरुद्ध भोट हाल्ने सांसदको ज्यान जोखिममा परेको छ । उनकै पार्टी रिपब्लिकनका १० जना सदस्यले महाभियोगको पक्षमा भोट हालेपछि ती सांसदहरुको सुरक्षा खतरा बढेको बताइएको छ । 

तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको पक्षमा मतदान गर्ने उनको भूमिकालाई लिएर उनले पार्टी नेतृत्व तहबाट राजीनामा दिनुपर्ने मागको सामना गरिरहेकी छिन् ।

रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यू बुसका उपराष्ट्रपतिकी छोरी नेत्री चेनीले महाभियोगको पक्षमा मतदान गरे लगत्तै उनको राजीनामा माग गरिएको थियो । ट्रम्पका अनुदारवादी समर्थकहरुले पदत्याग गर्न आग्रह गरेपछि उनले भनिन्, ‘म केही गर्न गइरहेकी छैन, यो विवेकको मतदान हो।’

ट्रम्पविरुद्ध मतदान गरेका सांसदहरुले आफूहरुले हिंसाको खतरा सामना गरेको र सुरक्षा बढाइएको बताएका छन् । ट्रम्पले कार्यालय छाड्ने र सिनेटमा सुनुवाइको सामना गर्ने तयारी गरिरहँदा पछिल्लो अवस्था देखापरेको बीबीसीले लेखेको छ । 

हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधबार ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३२ मत परेको थियोभने विपक्षमा १९७ मत परेको थियो । गत साता क्यापिटल भवनमा भएको हिंसालाई प्रोत्साहित गरेको आरोपमा लगाइएको महाभियोगको विपक्षमा १९७ जना सांसद थिए ।

आगामी बुधबार (जनवरी २० मा) नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथग्रहण गर्दैछन् । उक्त सपथ समारोहका दिन वासिङ्टन डीसी र ५० वटा राज्यका राजधानीहरुमा सशस्त्र समूहको सम्भावित प्रदर्शनको खतरा औँल्याउँदै सुरक्षा व्यवस्था कडा पारिएको छ । 

अहिलेदेखि नै हिंसा भड्किने सम्भावना देखेर अमेरिकाभर सुरक्षा कडा पारिएको छ । राजधानी वासिङटन डिसीमा करफ्र्यु जस्तै अवस्था रहेको छ । १३ मेट्रो स्टेशन २१ तारिखसम्मका लागि बन्द गरिएको छ । नेशनल गार्डहरु तैनाथ गरिएको छ । 

एक रिपब्लिकन सांसदले कयौँ सहकर्मीले शरीर सुरक्षा गर्ने रक्षाकवच किनेको जानकारी दिएका छन् । उनका अनुसार सुरक्षा खतराका कारण ती सांसदहरुले हिंसाको चेतावनी पाएपछि नियमित तालिका परिवर्तन गर्न बाध्य भएका छन् ।

मिसिगनका रिपब्लिकन पिटर मेइजरले भने, ‘कसैले हाम्रो हत्या गर्न खोज्छ भन्ने हामीलाई लागेको छ।’ उनले भविष्यमा के हुन्छ भन्ने थाहा नभएको बताए। उनले भने, ‘यो अद्वितीय त्रासको अवस्था सहित विभाजन र घृणाको यो अभूतपूर्व वातावरणमा हामीले हरेक परिदृश्यको लेखाजोखा गर्नुपर्छ।’

बाइडेनलाई संसदबाट विजेता घोषणा गर्नेदिन ट्रम्पले आफ्ना समर्थक उक्साएर संसद भवननै आक्रमण गर्न लगाएका थिए । जसका कारण एक सुरक्षाकर्मीसहित ५ जनाको ज्यान गएको थियो । 

दोस्रो पटक राष्ट्रपतिको उम्मेदवार बनेका ट्रम्प यसपटक पराजित भएका थिए । उनले अहिलेसम्म हार स्वीकारेका छैनन् । हिंसा फैलाएपछि उनीमाथि महाभियोग लगाइएको छ । 

हिंसा फैलाएकै कारण उनको ट्वीटर एकाउन्ट ट्वीटरले सधैका लागि बन्द गरिदिएको छ । उनीमाथि लागेको महाभियोगको अब सिनेटमा सुनुवाइ भएपछि छिनोफानो हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ