- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले घर झगडा व्यवस्थापन गर्न नसकेर त्यसको रिस संसद माथि पोखेको बताएका छन ।
सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा सिटौलाले प्रधानमन्त्रीलाई वर्तमान संविधानले तानाशाह बन्ने अधिकार नदिएको बताए ।
‘म कुनै क्न्फ्युजनमा छैन, संसद विघटन संविधान विपरित हो, बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन, त्यो अधिकार हामीले बनाएको संविधानमा छैन, प्रधानमन्त्रीले घर झगडाको व्यवस्थापन गर्न नसकेर संसद विघटन गर्नु भएको हो,’ सिटौलाले भने ।
पहिलेको संविधानमा रहेको विघटनको व्यवस्थालाई पटक पटकको राजनीतिक अस्थिरताको अनुभवबाट २०७२ सालको संविधानमा नराखिएको सिटौलाको दाबी छ ।
‘गिरिजाबाबु, मनमोहन र शेरबहादुर जीले संसद विघटन गर्दा संविधानमा त्यो अधिकार थियो, गिरिजाबाबुले पनि गलत गर्नुभयो, शेरबहादुर जीले गर्दा पनि मुलुकले अस्थिरता र दुर्घटना बेहोर्यो, त्यही अनुभवबाट फेरी मुलुकलाई अस्थिरतातर्फ नलैजाने गरी राजनीतिक सहमतीबाटै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार संविधानमा राखेनौं,’ सिटौलाले भने ।
उनले संविधान बनाउँदा अदालतलाई संसदीय समितिले अनुगमन गर्ने व्यवस्था राख्ने कि नराख्ने भन्ने विवादका बिच संविधानमा अदालतलाई स्वतन्त्र राख्ने गरी व्यवस्था गरिएको समेत बताए ।
सिटौलाले संसद विघटनको विषयमा समेत अदालतले संविधानमा भएको व्यवस्था भन्दा बाहिरबाट निर्णय नलिने विश्वास व्यक्त गरे ।
‘संविधानमा जे लेखेको छ, त्यसैका आधारमा अदालतले व्याख्या गर्नु पर्छ, अदालतले संविधानमा भएको व्यवस्था भन्दा बाहिरबाट निणर्य लिन्छ भन्ने मलाइ लाग्दैन, प्रधानमन्त्रीको खुसीमा संसद विघटन गर्ने स्वेच्छापूर्ण व्यवस्था संविधानमा छैन,’सिटौलाले थपे ।
पटक पटकको अभ्यासबाट पनि संसदले सरकार बनाउन नसकेको अवस्थामा मात्रै संसद विघटन गर्ने व्यवस्था संविधानमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था भित्र प्रवेश नै नगरी स्वेच्छाचारी ढंगबाट संसद विघटन गरेको सिटौलाले भनेका छन । सिटौलाले संसद विघटनको निर्णयले बैधानिकता पाए देश दुर्घटनातर्फ जाने समेत बताए ।
‘संसद विघटनले बैधानिकता पाए देशको अवस्था के हुन्छ ?, लोकतन्त्रको र व्यवस्थाको अवस्था के हुन्छ ?, अदालतले सदर गरे प्रहरी प्रशासन, निर्वाचन आयोगले के गर्छ ?, संविधान क्याप्चर गर्नेहरुले कस्तो निर्वाचन गर्छन ?,’ सिटौलाले भने । उनले कांग्रेसको नेतृत्वमा आएको संविधानलाई कांग्रेसले नै फ्रन्टलाइनमा बसेर जोगाउनु पर्ने बताए ।
‘कांग्रेसकै नेतृत्वमा संविधान आयो, हामीले छाती फुलाएर त्यो भन्न पाएका छौं, अब हामीले नै फ्रन्ट लाइनमा बसेर संविधान जोगाउन नेतृत्व लिनु पर्ने भएको छ,’ सिटौलाले सम्बोधनका क्रममा भने ।
संसद विघटनको घटनापछि सबैको नजर अदालततर्फ रहेको भन्दै सिटौलाले लोकतन्त्रमा अदालतलतलाई आफ्नो ताकत सो गर्ने अवसर समेत मिलेको समेत बताए ।
‘यो संविधानमा लत्रिएको अदालतको परिकल्पना गरिएको छैन, अदालतलाई बलियो र स्वतन्त्र बनाइएको छ, प्रधानमन्त्री र संसदलाई कन्ट्रोल गर्ने ताकत यो संविधानमा अदालतलाई दिइएको छ’ सिटौलाले भने ।
प्रतिष्ठानका अध्यक्ष समेत रहेका कांग्रेस नेता भिमसेनदास प्रधानले संसद विघटनको घट्ना पछि आमजनताको नजर सर्वोच्च अदालत तर्फ केन्द्रित भएकाले अदालतले संविधानको मर्म र जनभावना अनुसार निर्णय लिने विश्वास व्यक्त गरे।