arrow

कांग्रेसमाथि नजर

पुस १९ देखि रोकिएको कांग्रेस बैठक बस्दै, एजेन्डामा अलमल, १४ औं महाधिवेशनको चर्चा सेलाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ माघ १३ मंगलबार
congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो १ बजे कांग्रेस मूख्यालय विपीनगर सानेपामा बस्नेछ । कांग्रेस पार्टी मूख्यालयका मूख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक गत पुस १९ गतेदेखि रोकिएको बैठकको निरन्तरता हो । 

यो बैठकका एजेन्डा भने अलमलमै छन् । मूख्यसचिव पौडेलले केही बेरमै एजेन्डा तय हुने बताए । उनले बैठक केही दिन बढ्न पनि सक्ने र मंगलबारै टुंगिन पनि सक्ने भन्दै परिस्थितिअनुसार निर्णय लिइने बताए । 

बैठकमा संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच वैचारिक द्धन्द्ध हुने देखिएको छ । विशेष गरी बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिने वा चुनावी तयारी गर्ने भन्नेबारेमा निर्णय गर्न सभापति शेरबहादुर देउवामाथि दवाव हुनेछ । 

पौडेल पक्षले प्रतिनिधिसभा विघटन विरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले मंगलबारको बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेन्डा बनाउने निर्णय गरेको छ ।

देउवा समूह मध्यावधि निर्वाचनको पक्षमा देखिएको छ । तर सरकारले संसद विघटन गरेपछि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सुनुवाइ जारी रहँदा अहिले चुनाव भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सडकमै उत्रिनु पर्नेमा पौडेल पक्षको जोड छ । 

देउवा पक्ष भने अदालतले निर्णय दिएपछि मात्र के गर्ने भन्नेमा छ । तर अदालतले निर्णय नदिइकन चुनावी तयारीमा जानु मुख्र्याइँ भएको टिप्पणी भइरहेको छ । 

अर्कातर्फ संसद विघटनको विरोध गर्ने क्रममा कांग्रेसले वडा वडामा विरोध सभा गरेर चुनावको तयारी भने गरिसकेको विश्लेषण भइरहेको छ । 

अहिलेको विषम परिस्थितिको हवाला दिँदै कांग्रेसले आफ्नो १४ औैं महाधिवेशनको एजेन्डा भने भुलेको छ । पहिले कोरोना भाइरसको महामारीको बहाना गर्ने कांग्रेस अहिले हजारौंको संख्यामा भीड भेला गर्दा पनि यसको कार्यतालिका बनाउन अलमल गरिरहेको छ । 

गत वर्षको फागुनमै हुनुपर्ने महाधिवेशनको समय एक वर्ष सभापतिले थपेका थिए । तर फागुनमा त महाधिवेशन हुने छैन अहिलेसम्म कहिले गर्ने भनेर पार्टीले मिति घोषणा गर्न सकेको छैन । 

कांग्रेस केन्द्रीय समिति बैठक गत पुस ७ गतेदेखि सुरु भई पुस १९ गते रोकिएको थियो । सरकारले पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसको बैठक ७ गते बसेको थियो ।

अहिलेसम्म २१ जना केन्द्रीय सदस्यलेमात्र विचार राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ