arrow

प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेस, तेस्रो चरणको आन्दोलन घोषणा

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
nepali-congress-meeting.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटन बिरुद्ध नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।  कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठकमार्फत पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सम्पन्न भइसकेका संघर्षका कार्यक्रमको समीक्षा गर्दै संसद विघटन बिरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए ।

तेस्रो चरणका आन्दोलनमा भातृ तथा शुभेच्छुक संस्थालाई अघि सार्ने नीति कांग्रेसले लिएको छ ।  जसअनुसार १९ माघमा  भ्रातृ संस्थाको नेतृत्वमा ७७ वटै जिल्लमा प्रदर्शन हुने छ । यसैगरी २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० गते सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निणर्य गरिएको सहमहामन्त्री महतले हाम्राकुरासँग भने । काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने संयुक्त आयोजना हुनेछ ।

यस अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो । यस्तै दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।

भातृसंस्थाहरुको म्याद थपियो
कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठकबाटै म्याद सकिएका भातृ संगठनहरुको म्याद फेरी थप गरेको छ । सहमहामन्त्री महतका अनुसार नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघसहित म्याद सकिएका भ्रातृसंस्थाहरुको म्याद सकिएको मितिले ६ महिना थप गर्ने निणर्य बैठकले गरेको हो ।

प्रधानमन्त्रीको भनाइ प्रति खेद
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्ने तथा विरोध प्रदर्शनमा सहभागिहरु प्रति दिदै आएको अभिव्यक्ति प्रति समेत कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत नै आपत्ति जनाएको छ । यसैगरी प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइको बहसमा सहभागीहरु प्रति आएको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति समेत कांग्रेसले आपत्ति जनाएको छ भने नागरिक अगुवाहरुमाथि आन्दोलनका क्रममा गरिएको निर्मम व्यवहारप्रति समेत कांग्रेसले आपत्ति प्रकट गरेको छ ।

महाधिवेशनबारे छलफल
मंगलबारको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशनका बारेमा समेत छलफल भएको छ । छलफलका क्रममा जिल्लामा वितरण भइरहेका क्रियाशील सदस्यताको फाराम ३० माघसम्म केन्द्रमा बुझाइसक्न जिल्ला समितिलाई निर्देशन दिने निणर्य समेत कांग्रेसले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ