arrow

बाइडेनले अमेरिकालाई डब्लूएचओमा फर्काए, चीनलाई जिम्मेवार ठहर्‍याउन दबाब

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
joe-biden4.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बाइडेन युगको सुरुवात भएको छ । उनले आफूलाई कोरोना महामारीविरुद्धको युद्धमा अघि बढ्न कुनै कुराले अल्झाउने र अल्झिने समय पनि नभएको बताएका छन् । 

बाइडेनले कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राख्दै १० वटा कार्यकारी आदेशमा हस्ताक्षरसमेत गरेका छन् । भाइरसविरुद्धको खोप द्रुतगतिमा दिइने, परीक्षण दायरा बढाइने तथा मास्कलगायत अत्यावश्यक सामग्रीको उत्पादन बढाइने आदेशमा उल्लेख छ । त्यसैगरी, भाइरस नियन्त्रणका लागि राष्ट्रियस्तरको रणनीति तय गरिने पनि बाइडेनको योजना छ ।

निवर्तमान राष्ट्रपति ट्रम्पको भाइरसविरुद्धको रणनीति तय गर्न राज्यहरूलाई अधिकार दिएको र महामारी नियन्त्रणका लागि ठोस कदम नचालेको भन्दै उनको व्यापक आलोचना भएको थियो । उनले कोरोना महामारी नियन्त्रण गर्नुको साटो चीनलाई साथ दिएको भन्दै अमेरिकालाई डब्लूएचओबाट बाहिर निकालेका थिए । तर, बाइडेनले भने अमेरिकालाई डब्लूएचओमा फर्काएका छन् । 

राष्ट्रपति बाइडेनको कोरोना भाइरस कार्यदलका संयोजक जेफ जायन्ट्सले ट्रम्प कार्यकालमा संघीयस्तरमा भाइरसविरुद्धको कुनै रणनीति नरहेको तथा विस्तृत योजनाको अभाव भएको बताएका छन् । 

बाइडेनलाई कोरोना महामारीको उत्पत्ति र त्यस मुलुकले गरेको लापबाहीको अनुसन्धानका लागि विशेष पहल गर्नुपर्ने र आफ्नो गल्तीप्रति जिम्मेवार ठहर्‍याउनुपर्ने दबाब छ । बाइडेनले चीनप्रति कुनै ठोस टिप्पणी भने गरेका छैनन् । 

कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओका प्रतिनिधिको टोली चीन पुगेको छ । तर, चीनले भने त्यहाँ तथ्यहरु लुकाउने प्रयासहरु गरिरहेको आरोप छ । चीनको यस्ता गतिविधिहरु रोक्‍नका लागि विश्‍वले बाइडेन प्रशासनको मुख ताकेको छ । 

त्यसैगरी, खोपको प्रभावकारी वितरण तथा भरपर्दो परीक्षणका लागि बाइडेन प्रशासनले ७ बुँदे योजना सार्वजनिक गरेको छ । अप्रिल अन्त्यसम्ममा १० करोड जनालाई खोप दिइसकिने जनाइएको छ । त्यस्तै एक सय दिनभित्रमा विद्यालयहरूमा पठनपाठन सुरु गरिने योजना छ ।

अमेरिकाले विश्वलाई फेरि नेतृत्व प्रदान गर्ने बाइडेनको भनाइ छ । ओभल अफिसको पहिलो दिननै बाइडेनले उत्तर एट्लान्टिक सन्धि संगठन नेटोका नेतालाई अमेरिका पूर्ववत् अवस्थामा फर्किएको जानकारी गराउने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ