arrow

पेट्रोलियम आपूर्ति सहज 

पेट्रोलियम डिलर एसोसिएसनको आन्दोलन स्थगित, निगमसँग सहमति, सुशासनमा जोड

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल पेट्रोलियम डिलर एसोसिएसनको आन्दोलन स्थगित भएको छ । नेपाल आयल निगमसँग चार बुँदे सहमति भएसँगै एसोसिएसनका सम्पूर्ण विरोधका कार्यक्रम स्थगित भएको हो । 

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले चार बुँदे सहमति गरेसँगै एसोसिएसनले घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । एसोसिएसनले कमिशन नबढाएको भन्दै पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध गर्ने जनाउँदै आएको थियो । बागमती प्रदेशमा आइतबार आपूर्ति ठप्प पार्ने कार्यक्रम रहेको थियो । 

सहमति अनुसार निगमले एसोसिएसनलाई पेट्रोलमा प्रतिलिटर १२.५ पैसा र डिजेलमा प्रतिलिटर २९ पैसा कमिशन दिने भएको छ । एसोसिएसनले भने प्रतिलिटर ५० पैसा बढाउन माग गर्दै आएको थियो । 

सहमतिअनुसार अब टेक्निकल लस भन्दै निगमले दिँदै आएको क्षतिपूर्ति भने स्थगित गरिएको छ । निगमले प्रति ४ हजार लिटरमा १० लिटर र प्रति ४ हजार लिटर डिजेलको ३ लिटर लस बापत क्षतिपूर्ति दिँदै आएको थियो । 

अब भने अध्ययन अनुसन्धान गरी त्यसका आधारमा मात्र के गति गर्नुपर्छ सोही अनुसार निर्णय हुने पनि प्रवक्ता उपाध्यायले बताए । यसअघि हचुवाका भरमा टेक्निकल लसबापत दिँदै आइएको थियो । 

यसका लागि अध्ययन अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयको विज्ञताको सहयोग लिने भएको छ । सो अनुसार गुणस्तर तथा नाप तौल विभागका महानिर्देशकको संयोजकत्वमा अध्ययन समिति गठन हुने भएको छ । 

त्यसैगरी सुशासन सम्बन्धी पनि सम्झौता भएको छ । सुशासन सहमति अनुसार पेट्रोलियम पदार्थ विक्रेता बिनियमावली २०७५ को संशोधन गर्ने, त्यसमा डिलर एसोसिएनसका प्रतिनिधि पनि रहने, निगमको डिपो कार्यालयदेखि विक्रेताको पेट्रोल पम्पसम्मको टयाङ्करको लसिङलाई थप प्रभावकारी बनाउन आधुनिक मेसिन जडान गर्ने भएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ