arrow

डब्लुएचओको अनुसन्धान टोली कोभिड–१९ फैलिएको उहानको बजारमा

logo
एएफपी,
प्रकाशित २०७७ माघ १८ आइतबार
wuhan-meat-band.jpg

उहान, चीन। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहान बजारको भ्रमण गरेको छ । 

समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ । एएफपीका पत्रकारहरुका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए । 

चीनले गरेको ढिलाई एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ । 

तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले अड्कल गरेको छ । उहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटमा उभिएको छ । 

आइतबार डब्लुएचओको अनुसन्धान टोली हुआनानको बजार अनुगमन गर्न आइपुगेको थियो । डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालीरहेका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत उहानको बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ । चिनियाँ अधिकारीहरुले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् । 

चीनमा कोभिड–१९ को संक्रमणबाट चार हजार ६३६ जनाको मृत्यु भएको आधिकारिक विवरणमा उल्लेख छ ।
 



नयाँ