arrow

अफगान राजधानी काबुलमा बम हमला

logo
एएफपी,
प्रकाशित २०७७ माघ २० मंगलबार
afgan-city.jpg

काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलवार बिहानको व्यस्त समयमा शृङ्खलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तमिा दुई जनाको मृत्यु भएको छ । उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको थियो ।

प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो विस्फोटमा दुई जनाको मृत्यु भएको र अरू दुई जना घाइते भएको जानकारी दिए । अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको पनि उनले बताए । तेस्रो विस्फोटबाट कुनै क्षति भए नभएको विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिए ।

हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकिल, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरू नियमित झैँ हुने गरेका छन् तर यी आक्रमणको कसैले पनि जिम्मेवारी लिने गरेको पाइएको छैन । सरकारले यी आक्रमणहरू अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह ताल बानले गराएको आरोप लगाउँदै आएको छ ।

यसैबिच, अफगानिस्तानको कुन्दन प्रान्तको कुन्दन सहर नजिक सुरक्षाकर्मीसँगको भिडन्तमा चार सुरक्षाकर्मी र तीन जना विद्रोही लडाकुहरू मारिएका छन् ।

प्रान्तीय परिषद्का प्रवक्ता फउजिया जवाद याफतालीले जाखिला खादमानमा रहेको सेनाको जाँच चौकीलाई लक्षित गरी तालिबान समूहले आक्रमण गर्दा दोहोरो भिडन्त भएको जानकारी दिए । उनले भिडन्तमा चार सैनिक र तीन विद्रोही लडाकुको ज्यान गएको पनि बताए । उक्त घटनामा दुई सैनिक र तीन जना विद्रोही घाइते भएका छन् ।

अफगानिस्तानमा युद्धरत तालिबान र अफगान सरकारबिच कतारको दोहामा गत सेप्टेम्बरदेखि प्रत्यक्ष वार्ता जारी छ, तर प्रगति निकै सुस्त छ ।

अमेरिकामा गत जनवरी २० मा आएको राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले गत वर्ष तालिबानसँग अमेरिकाले गरेको शान्ति सम्झौताको समीक्षा गर्ने बताएको छ । अफगानिस्तानमा पछिल्लो समय जारी हिंसाप्रति अमेरिकी प्रशासनले निन्दा एवं भर्त्सना गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ