arrow

म्यानमारको सैन्य कू विफल पार्न गुटेर्रेसको आह्वान

logo
एएफपी,
प्रकाशित २०७७ माघ २२ बिहिबार
antonio_guterres-us-general-secretary.jpg

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यानमारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् ।  उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताएका छन् ।

‘यो कु विफल बनाउन म्यानमारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ’ उनले बताएका छन् । ‘जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्ण रूपमा अस्वीकार्य छ । म आशा गर्छु कि म्यानमारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’ गुटेर्रेसले बताएका छन् ।  
 
सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सुकीलाई गिरफ्तार गरेको थियो । म्यानमारको प्रहरीले सुकीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ र फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहने छिन् । सेनाले सत्ता हातमा लिएपछि सुकी र राष्ट्रपति विन मिनका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन्।

म्यानमारमा सेनाद्वारा एक वर्षका लागि सङ्कटकाल लागु गरेको र सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ । गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ । उक्त चुनावमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्यधिक मत ल्याएको थियो ।

गत नोभेम्बरको चुनावबाट संसद्को तल्लो र माथिल्लो दुवै सदनका कूल ४७६ स्थानमध्ये सुकीको दल एनएलडीले ३९६ स्थान जितेको छ । सन् २००८ को संविधान बमोजिम सेनालाई संसद्को कूल स्थानको २५ प्रतिशत छुटाइएको छ । साथै कतिपय महत्त्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको छ ।

सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको पनि समाचारमा जनाइएको छ । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनर्स्थापनामा बाधा पुर्‍याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो । बिहीबार प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नभएको बताएका थिए । कूको विपक्षमा बनाइएको फेसबुक पेजमा दशौँ हजार लाइहरू आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ