arrow

एसएमईजहरूलाई ऋण सहजीकरण गर्न महासङ्घ र बैंकर्स एसोसिएसनबिच कार्यदल गठन गर्ने सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७७ माघ २४ शनिबार
fncci-nba-meet.jpg

काठमाडौँ। घरेलु तथा साना उद्योगहरूलाई ऋण प्रवाहमा सहजीकरण गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल बैंकर्स एसोसिएसनबिच सहमति भएको छ। महासङ्घका अध्यक्ष शेखर गोल्छा र बैकर्स एसोसिएसनका अध्यक्ष भुवन कुमार दाहालबिच महासङ्घको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमति भएको हो।

महासङ्घको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले विषय प्रवेश गराउनु भएको सो भेटवार्तामा महासङ्घ र बैकर्स एसोसिएसनबिच घरेलु तथा साना उद्योग (एसएमईजहरू) क्षेत्रमा हुन सक्ने सहयोग-सहकार्यका विषयमा छलफल भएको थियो।

भेटवार्तामा एसएमईजहरूलाई ऋण सहजीकरण देखि अन्य क्षेत्रमा सहयोग गर्न केन्द्रमा दुवै संस्थाको सहभागितामा एउटा सानो कार्यदल गठन गर्ने र बिस्तारै प्रदेश तथा जिल्ला स्तरमा पनि कार्यदल विस्तार गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको छ। यसका लागि दुवै संस्थाबिच छिट्टै एक सहमतिपत्रमा हस्ताक्षर गरी अगाडी बढ्ने सहमति समेत भएको छ।

महासङ्घको घरेलु तथा साना उद्योग समितिको माघ २० गते बसेको पहिलो बैठकले एसएमईजहरुलाई लगानी सहजीकरणको लागि बैकर्स सङ्घ र नेपाल राष्ट्र बैङ्कसँग सहजीकरण गर्ने सम्बन्धमा गरेको निर्णय अनुसार उक्त भेटवार्ता भएको हो।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि ल्याएका राहत प्याकेजहरू कतिपय जिल्लामा लागू गर्न बैङ्कहरू अनिच्छुक देखिएका गुनासाहरू विभिन्न जिल्लाहरूबाट महासङ्घको आएका सन्दर्भमा दुवै संस्थाबाट भएको यो प्रतिविद्धताबाट कार्यान्वयन तहमा आउने समस्या समाधानमा समेत सहयोग पुग्ने विश्वास महासङ्घको छ।

नेपाल राष्ट्र बैङ्कले कोभिड१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन २०७७ अनुसार कोभिडको समय असारसम्म ६३.६ प्रतिशत सञ्चालन हुन नसकेका घरेलु, मझौला र साना उद्योगहरूमा १३.०१ प्रतिशत अहिलेसम्म पनि खुल्न सकिरहेको छैनन्। नेपाल राष्ट्रबैङ्कद्धार गरिएको एक अर्को अध्ययनका अनुसार नयाँ व्यवसाय सञ्चालनका लागि बैङ्क तथा वित्तीय संस्थाहरूमा १६ प्रतिशतको मात्रै पहुँच रहने गरेको छ।

निर्यात प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट निकासी हुने सामाग्रीको ४२ प्रतिशत अंश घरेलु, मझौला र साना उद्योगहरूको रहेको छ। उक्त भेटवार्तामा महासङ्घका उपमहानिर्देशक गोकर्ण अवस्थी, एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा र महासङ्घका उपनिर्देशक विदुरचन्द्र लामिछानेको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ