arrow

उत्तराखण्डमा हिमताल विस्फोट : अठारको मृत्यु, दुई सय बेपत्ता

logo
एएफपी,
प्रकाशित २०७७ माघ २६ सोमबार
utarakhanda.png

ऋषिकेश । भारतको उत्तराखण्डमा गएको हिम पहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिम पहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुलहरू, सडकहरू र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयवासी ओम अग्रवालले तीव्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैँ अनुभव गरिएको बताए ।

उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए ।

बेपत्ता भएका सबैजसो व्यक्तिहरू विद्युतगृहमा कार्यरत मजदुर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र डुङ्गाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाई छ ।

“यो घटना साँझपख भएको थियो भने त्यति ठुलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरू काममा थिए,” मुख्यमन्त्री रावतले भने ।

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पीयूष राउटेलाले बताए । उनले भने, “झन्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ ।”

धेरै जना उद्धारकर्मीहरू सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरू, सेना र प्रहरीका टोलीहरू घटनास्थलमा खटिएका छन् ।

सामाजिक सञ्जालमा धेरै व्यक्तिले घटनाको प्रत्यक्ष भिडियोहरू पोस्ट गरेका छन् । साँघुरो उपत्यकाबाट तीव्र गतिमा पानी तलतिर बगेका भयानक दृश्यहरू देखिएका छन् ।

विद्युतगृहको सुरुङ (टनेल) भित्र कार्यरत एक जना २८ वर्षीय मजदुर राजेश कुमारले बाढी आउँदा आफूहरू सुरुङको ३०० मिटर भित्र रहेको बताउँदै एकाएक बाहिर निस्कन सबैलाई चेतावनी दिइएको स्मरण गर्नुभयो । “हामी सबै दौडियौँ तर पानी जोडले भित्र पस्न थाल्यो । यो कुनै हलिउडको चलचित्रको जस्तै दृश्य थियो । हामीलाई बाहिर निस्कन सकौँला भन्ने लागेकै थिएन ।”

भारतीय अधिकारीहरूले हिउँको ठुलो हिस्सा एकाएक नदीमा खसेपछि ठुलो बाढी आएको बताएका छन् । तर यो हिमताल विस्फोट भएर हिम पहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरूले औँल्याएका छन् ।
सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो । उक्त घटनापछि उत्तराखण्डका विकास परियोजनाको समीक्षा गरिएको थियो ।

वातावरणसम्बन्धी कार्य गर्ने गैसस स्वेच्छाका संस्थापक विमलेन्द्र झाले पछिल्लो घटना जलवायु परिवर्तनका साथै जथाभाबी भइरहेका सडक, रेलवे र विद्युतगृह निर्माणले झन् समस्या निम्त्याएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ