arrow

चिनियाँ सेनाको हेलमेटमा 'बम', जसको नियन्त्रण कमाण्डरको हातमा

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
PLA-China-army.jpg

काठमाडौं । सीमा क्षेत्रमा चीन र भारतबीचको बढ्दो तनावका बेला चीनले आफ्ना सैनिकमाथि विशेष किसिमको प्रणाली जडान गरेको छ ।तिब्बती सीमा क्षेत्रमा खटिएका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)अन्तर्गतको पिपुल्स लिब्रेसन आर्मी (पीएलए)का सेनाहरूको हेलमेटमा ‘डिजिटल कम्ब्याट सिस्टम’ जडान गरेको हो ।

बम, क्यामेरा, अडियो सिस्टम, एन्टेना, नाइटभिजन ग्लास लगायतका कुराहरू यो प्रणालीमा ‘सेट’ गरिएको छ ।यसमा रहेको ‘सेल्फ डिस्ट्रक्ट (आत्म विनाशक) डिभाइस’लाई मुख्य रूपमा हेरिएको छ ।

सीमा क्षेत्रमा खटिएको सैनिक सम्पर्क विहीन भएको अवस्थामा यो प्रणालीलाई नियन्त्रण गर्ने कमाण्ड सेन्टरबाट सैनिक कहाँ छ ? कस्तो अवस्थामा छ ? उसको अगाडि के छ ? भन्ने कुरा कमाण्डरले हेर्न सक्छ । स्थिति अनुसार कमाण्डरले उक्त सेल्फ डिस्ट्रक्ट सिस्टम अन गरेर यो प्रणालीलाई नष्ट गर्नुका साथै सैनिकको ज्यान समेत लिन सक्छ ।

रिपोर्टमा जनाइए अनुसार यदि पीएलएको सैनिक गम्भीर रूपमा घाइते भएमा वा शत्रुको हातमा परेको खण्डमा  उ आफैले पनि ट्रिगर थिचेर 'सेल्फ डिस्ट्रक्ट' (आफैले पड्काउनु) गर्न सक्छ । 

यसो गर्दा यो प्रणाली चोरी पनि हुन पाउँदैन । सैनिकको ज्यान पनि जान सक्ने भए पनि यसलाई उसको उच्च प्रतिष्ठाका रूपमा हेर्न सकिने सीसीपीको भनाइ छ । यद्यपि, सेल्फ डिस्ट्रक्ट सिस्टमले वास्तवमै कसरी काम गर्छ भन्ने कुरा भने बाहिरिएको छैन ।

कमाण्ड सेन्टरबाट कमाण्डरले यो प्रणालीलाई कन्ट्रोल गर्नुका साथै सम्पर्क विहीन भएको सैनिकसँग कुरा गर्न सक्ने छ भने उसको अगाडिको दृष्य पनि देख्न सक्ने छ ।

सीमा क्षेत्रमा शत्रुलाई परास्त गर्नका लागि एकअर्का सैनिकबीच कुराकानी, आफ्नो सैनिक र शत्रु चिन्न सहजता र कुनै ठाउँमा सैनिक आफू फसे पनि जानकारी दिन सकिने किसिमले यो प्रणाली विकास गरेको देखिन्छ ।

तर, सैनिक शत्रुको हातमा पर्‍यो भने, उसले यो प्रणाली चोरी गर्न नसकोस् भनेर सेल्फ डिस्ट्रक्ट सिस्टम राखेको देखिन्छ ।
तर, कमाण्ड सेन्टरले सैनिकलाई आफ्नो नियन्त्रणमा राखेर ज्यान समेत लिन सक्छ ।

सीसीपीले यसबारेको कुनै जानकारी बाहिर निकालेको छैन । चिनियाँ राष्ट्रपति सि चिनफिङले भने, हालै सैन्य उपकरण नियमन सम्बन्धी कानुनमा हस्ताक्षर गरेका छन् ।चीनले सन् २०१३ मा पनि विशेष महिला सैन्य बलमाथि यसै किसिमको प्रणाली जडान गरेको थियो ।

सीसीपीले पीएलएलाई ग्रेनाइट बोक्न र शत्रुको हातमा परेमा आफू र शत्रु दुवैलाई बिष्फोट गर्नसम्मको निर्देशन दिएको कुरा निकाल्दै अहिले यसको पनि व्यापक विरोध भइरहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले सीमा क्षेत्रमा देशका लागि बलिदान दिएका सैनिकहरुको सम्मानका साथ अन्त्येष्टि समेत नगर्ने गरेको आरोप छ ।

केही महिना अघि भारतीय सैनिकसँग भएको भिडन्तमा चीनले आफ्नो पट्टी सैन्य क्षति नै नभएको दाबी गरेको थियो । तर, पीएलए भित्रकै सेवानिवृत सेनाहरूले चीनले देशकालागि बलिदान दिएका सैनिकको सम्मान एवं अन्त्येष्टि गर्न छोडेर लुकाएको आरोप लगाएका थिए ।

उसो त, कम्युनिस्ट पार्टीको कठोर नियम र नियन्त्रणका कारण चिनियाँ पिपुल्स लिब्रेसन आर्मी आफैमा पनि रुष्ट छ ।यस्तोमा सैनिकहरूलाई पूर्णरुपमा नियन्त्रणमा राखेर ज्यान समेत लिन सक्ने प्रणाली जडान गरेपछि यसलाई गम्भीर रूपमा हेरिएको छ । 
 



नयाँ