arrow

भागरथी हत्या प्रकरणबिरुद्ध डडेल्धुरामा विप्लव समूहको प्रदर्शन

logo
राम धामी
प्रकाशित २०७७ माघ २७ मंगलबार
student5.jpg

डडेल्धुरा । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले डडेल्धुराका ग्रामीण क्षेत्रहरुमा संगठन विस्तारमा तिव्रता लिएको छ । सो पार्टीका भातृ संगठनहरुसमेत सकृयताका साथ संगठन विस्तार अभियानमा जुटेका छन् ।

मंगलबार बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि निर्मम हत्या प्रकरणबिरुद्ध ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल क्रान्तीकारीले आलिताल गाँउपालिकामा प्रर्दशन गरेको छ ।

संगठन विस्तार अभियानका क्रममा बैतडीमा भएको जघन्य अपराधको घटनामा संलग्नहरुलाई कडा कारवाहीको मागगर्दै प्रर्दशन गरिएको अखिल क्रान्तीकारी डडेल्धुराका अध्यक्ष शंकर खातीले बताए । उनले हाल जिल्लाभरका विद्यालयहरुमा संगठन बिस्तार भइरहेको जानकारी दिए । 

प्रतिबन्धित ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्लाका अधिकांस स्थानीय तहका वडाहरुमा वडा कमिटी, बस्तीस्तरमा टोल कमिटी र भातृ तथा जनवर्गीय संगठनहरु गठन र पुर्नगठनको काम गरिरहेको सो पार्टीका जिल्ला सेक्रेटरी टिका राना ‘विजय’ले जानकारी दिए । उनले केन्द्रमा सरकारसँग वार्ताको वातावरण बन्न थालेकाले हाल संगठन विस्तार अभियान संचालन गरिएको बताए ।

सरकारसँग वार्ता गरेर पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने पक्षमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको जिल्लास्तरीय नेताहरुको बुझाई छ ।

सरकारसँग वार्ताको वातावरण बन्दा सुरक्षा सहजता हुने देखिएकोले सो पार्टीले संगठन विस्तारमा तिब्रता दिएको हो । गतसाता मात्रै भागेश्वार गाँउपालिका–५ मा वडा कमिटी गठन गरेको सो पार्टीले बिभिन्न ग्रामीण वस्तीहरुमा धमाधम कमिटी गठन गरिरहेको स्थानीय बताउँछन् ।

पार्टीका वडा कमिटी, टोल कमिटी, पालिका स्तरीय कमिटी गठन तथा पुर्नगठन अभियानमा रहेको सो पार्टीले अखिल नेपाल महिला संघ (क्रान्तीकारी) अखिल क्रान्तिकारी, जनस्वयमसेवक संगठन, किसान संघ (क्रान्तीकारी) जस्ता भातृ तथा जनवर्गीय संगठनहरु विस्तार गरिरहेको सो पार्टीका जिल्लास्तरीय नेताहरु बताउँछन् ।

पछिल्लो समय ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका गतिविधीहरु बढ्दै गएको भए पनि सुरक्षा निकायहरुको सकृयता देखिदैन् ।

सडक आन्दोलनका कारण सुरक्षा निकायहरु सदरमुकाम र स्थानीय तहका मुकामहरुमा बढि केन्द्रित हुन थालेकाले पनि ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई ग्रामीण वस्तीहरुमा संगठन विस्तारका लागि सहज भएको स्थानीय बताउँछन् ।

सरकारसँग वार्ताको तयारी भईरहेको सन्दर्भमा खासै जानकारी नभएको र ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई पहिला जस्तै व्यवहार गरिने जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरु बताउछन् ।

जिल्ला सुरक्षा समितिमा ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका गतिविधीहरु न्यूनीकरणका लागि छलफल हुने गरेको र कडाईका साथ गतिविधीहरु नियन्त्रण गर्न मातहतका निकायहरुलाई निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ