arrow

ओलीले संविधानको हत्या गरे, लोकतन्त्रवादीहरू एक ठाउँमा आउनुपर्छ : डा. केसी

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
dr.kc_.JPG

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा शुक्रवार माइतीघर मण्डलामा नागरिक खबरदारी कार्यक्रम भएको छ ।

कार्यक्रममा सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको हत्या गरेको बताएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रजातन्त्रवादी एक हुन उनले आह्वान गरेका छन् ।

नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. केसीले भने, ‘आफ्नो स्वार्थपूर्तिका लागि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र प्रजातन्त्रको हत्या गरे, यसको विरोधमा प्रजातन्त्र र लोकतन्त्रवादीहरू एक ठाउँमा आउनुपर्छ।’

त्यस्तै कार्यक्रममा सहभागीमध्ये प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदार नरसिंह केसीले पनि ओलीको कदमविरुद्ध सबै एक हुनुपर्ने बताएका छन् ।

'सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजीवीहरू एकै ठाउँमा आउनुपर्छ', उनको भनाइ थियो ।

मण्डलामा डा.केसी एवं केदार नरसिंहलगायतका नागरिक समूहका अगुवाहरूले संसद् विघटनको विरोध गरेका हुन् । 

समाजले धर्ना दिँदै विधिको शासन, प्राज्ञिक र नागरिक स्वतन्त्रता कायम गर्न, मानवाधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ ।  

धर्नापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष डा केदार नरसिंह केसी, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष बुद्धबहादुर थापा, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष हरिहर दाहाल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही, चिकित्सक प्रा डा गोविन्द केसी, नेपाल शिक्षक सङ्घका सीता खड्कालगायतले नेपालको संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नदिएको जिकिर गरेका छन् । 

समाजले मुलुकमा पछिल्ला समयमा बढ्दै गएको बालिका, किशोरी, महिला बलात्कारको सिलेसिलेवार अपराधबाट चिन्तित बनेको उल्लेख गर्दै त्यस्ता सबै घटना छानबिन गरी अपराधीलाई दण्डको कठघरामा ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ