- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रसुवा । नेपाली कांग्रेसका नेता एंव रसुवा जिल्लाबाट तत्कालिन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले रसुवागढी नाका पूर्ण संञ्चालनमा ल्याउन माग गरेका छन् ।
२८५७ औं सोनम ल्होछार लाङ ल्हो (गोरु वर्ग) को अवसरमा आरुखर्क जुरेढुङ्गा युवा समाज नौकुण्ड-१ रसुवाको आयोजनामा संचालित कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले रसुवागढी नाका लामो समयदेखि पूर्ण संञ्चालनमा आउन नसक्दा नेपाल र चीन वीचको व्यापारिक कारोवार प्रभावित हुनुका साथै रसुवाली दाजुभाइको गरिखाने बाटो बन्द भएको बताए ।
ऋण गरेर ४०० भन्दा बढि कन्टेनर खरिद गरेका रसुवालीहरु आज किस्ता तिर्न नसकेर गाडिनै बुझाउने अवस्थामा पुगेको भन्दै उनले ४०० भन्दा बढि रसुवाली ड्राइभर र यससंग जोडिएका कैयौंको रोजगारि खोसिएको बताए ।
नाका खोल्नका लागि संम्बन्धित निकायहरुमा पटक पटक अनुरोध गर्दा पनि चासो नदेखाएकाले सबैले आ-आफ्नो क्षेत्रबाट आवाज उठाउन आग्रह गरे ।
एक वर्षदेखि नाका पूर्ण संञ्चालनमा आउन नस्कदा पारि रहेका गाडि र १००० भन्दा बढि कन्टेनर सामग्री के कस्तो अवस्थामा छ थाहा नभएको भन्दै नेता आचार्यले कतिपय खाद्य सामग्रीहरुको उपभोग्य मिति गुज्रिसकेको गुनासो व्यापारीहरुले गरिरहेको बताए ।
कार्यक्रममा बाग्मती प्रदेस सभा सदस्य प्रेम तामाङले नाका संञ्चालनमा आउन नस्कदा व्यापारीहरु ठुलो मर्कामा परेको ,ब्याज र किस्ता तिर्न नसकेर एकजना व्यापारी त आत्महत्या नै गरेको खबरले दुखी बनाएको बताए ।
चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको भन्दै उनले चीनले गरिरहेको नियन्त्रण फुकुवा गर्न नेपाल सरकारको तर्फबाट समेत ठोस पहल नभएको आरोप लगाए । यो एक प्रकारको अघोषित नाकाबन्दी नै भएको उनको आरोप थियो।
सो अवसरमा कार्यक्रमका अन्य बक्ताहरु उत्तरगया गाउँ पालिका प्रमुख उपेन्द्र लम्साल ,नौकुण्ड गाउँ पालिका प्रमुख नुर्पु साङ्बो घले र आमाछोदिङ्मो गाउँपालिका प्रमुख बुचुङ तामाङले नाका पूर्ण रुपमा संञ्चालनमा ल्याउन सरोकारवाला पक्षको घ्यानाकर्णषण गराए ।
गत बर्ष माघ १५ देखि नाका बन्द छ । सुरुमा ल्होसारका कारण बन्द भएको नाकापछि कोरोना भाइरसको महामारी फैलिएसँगै गत जेठ महिनाको २१ गतेसम्म नाका पूर्ण रुपमा बन्द भयो । जेठ २२ गतेदेखि चीनबाट नेपालतर्फ एकतर्फी सामान ल्याउने गरि नाका संचालनमा ल्याइएको थियो ।
त्यस बिचमा पनि पटक पटक नाका बन्द भयो । नियमित रुपमा नाका संचालन हुदा यो नाकाबाट दैनिक सय भन्दा बढी कन्टेनर सामान नेपाल भित्रने गरेको थियो ।