arrow

महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन २ आइतबार
nahila-hastakal.jpg

जनकपुरधाम । महिलाहरूको सीप तथा कलालाई प्रवर्द्धन गर्ने उद्देश्यले आइतबार देखि जनकपुरधाममा तीन दिने महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै सङ्घीय सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले जुन घरमा महिला राम्रो छ त्यो घरमा खुशी र शान्ती भएको बताएकी छन् । त्यसैले अब महिला र पुरुष नछुटाईकन कार्य गरेमा मात्र हाम्रो देश समृद्ध हुने उनले बताइन् ।

आइतबार मन्त्री महतोले महिलाहरूको उत्थानका लागि सङ्घ सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य र छलफल  छिटै गर्ने बताइन ।

नेपाल हस्तकला महासङ्घको आयोजनामा भएको तीन  दिवसीय महिला हस्तकला मेला प्रदर्शनीमा ५० भन्दा बढी स्टाँलहरु राखिएको हो । प्रदर्शनीमा हस्तकला उद्यमी व्यवसायीहरूद्वारा उत्पादित स्थानीय स्तरका विभिन्न वस्तुहरू, मिथिला आर्ट, माटाका भाडाहरू, लाहका गरगहनाहरू, प्राकृतिक रेसाका वस्तु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्चिमा, उनी तथा सुर्तीजन्य वस्तु, काष्ठकला र हते कागजजन्य वस्तुहरू राखिएका छन् ।

 कार्यक्रममा बोल्दै मन्त्री महतोले कुनै देश वा समाजलाई समृद्ध बनाउनका लागि महिलाहरू समृद्ध तथा खुशी हुनु आवश्यक रहेको बताइन्। यस प्रदर्शनीले महिला उद्यमीहरूलाई सक्षम बनाउन केही हदसम्म सहयोग पुर्‍याउने मन्त्री महतोले विश्वास समेत व्यक्त गरिन् ।

 मेला तथा प्रदर्शनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा प्रदेश २ को ८ वटै जिल्लाका महिला उद्यमीहरूको सहभागिता रहेको छ।

महिला उद्यमीहरूले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए।

प्रदर्शनीमा मिथिला चित्रकला, बाँसका कलात्मक भाँडा वर्तन, माटाका भाँडा, सुतीका कपडाहरू राखिएको छ । मेलामा झन्डै २५ हजार आगन्तुक आउने अनुमान गरिएको  बताए ।
 
उद्घाटन सत्रमा जनकपुरधाम उपमहानगरपालिका मेयर लाल किशोर साह, उद्योग वाणिज्य सङ्घका प्रदेश अध्यक्ष शिव शंकर साह हिरा, जनकपुरधाम उधारो वाणिज्य सङ्घ का अध्यक्ष ललित साह, सङ्घ सरकारका सचिव, सहसचिव सहितले आफ्ना विचार राखेका थिए। प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएका आयोजकले जानकारी दिए।



नयाँ