arrow

रिहानाले रक्षात्मक बनाउन खोजेको भारतले उनकै देश बार्बाडोसलाई दियो कोरोना खोप

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
rihanna-pop-singer.jpg

नयाँ दिल्ली। बार्बाडियाका गायिका तथा सामाजिक अभियन्ता रोबिन रिहाना फिन्तीले ट्विटरमार्फत भारतको किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विश्वको ध्यान तानिरहेका समयमा भारतले भने बारबाडोसलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ।

विश्वभर खोप डिप्लोमेसी गरिरहेको भारतले बार्बाडोसलाई पनि एक लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको हो। बार्बाडोसका प्रधानमन्त्री मिया अमोर मोटोलीले कोरोनाविरुद्धको अक्सफोर्ड-एस्ट्राजेनेका एक लाख डोज खोप उपलब्ध गराएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

फेब्रुअरी ४ मा प्रधानमन्त्री मोदीलाई लेखिएको पत्रमा मोटोलीले भनेका छन्, “मेरो सरकार र जनताकोतर्फबाट, तपाईँहरू, तपाईँको सरकार र गणतन्त्र भारतका जनतालाई कोभिसिल्ड खोप उपहार दिएकोमा धन्यवाद दिन चाहन्छु।"

यसअघि क्यारेबियन राष्ट्र बार्बाडोसका प्रधानमन्त्रीले आफ्नो मुलुकका लागि भारतीय खोप अनुदान सहयोग गर्न प्रधानमन्त्री मोदीलाई पत्र पठाएका थिए। 
"स्वास्थ्य मन्त्री र प्रमुख चिकित्सा अधिकारी दुवैले बार्बाडोसमा यो खोप प्रयोग गर्नका लागि अनुमोदन भइसकेको छ। उत्पादकहरूको दिशानिर्देश अनुरूप यो खोप प्रयोगमा ल्याइने छ," प्रधानमन्त्री मोटलेले आफ्नो पत्रमा भनेका थिए।

भारतसँग १५२ देशले कोरोना भाइरस खोपको माग गरिरहेका छन्। मार्चसम्म कम्तीमा ६० मुलुकहरूलाई १ करोड ६० लाख डोज खोप आपूर्ति गर्ने भारतको लक्ष्य रहेको छ।

यसअघि भारतले नेपालसहित दक्षिण एसियाली मुलुकहरूलाई पनि कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराएको थियो।



लोकप्रिय समाचार
नयाँ